मकवानपुर/भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाले मकवानपुर जिल्लाका केही अगुवा किसानहरुलाई एक हप्ते अध्ययन अनुसन्धान भ्रमणमा सहभागी गराएको छ ।
आफूहरुले गर्दै आएको कृषि व्यवसायलाई अझै राम्रो बनाउने प्रेरणा मिलेको भ्रमणमा सहभागी कृषकहरुले बताएका छन् । केन्द्रका पशु विकास अधिकृत डा. ध्रुब डीसीको नेतृत्वमा भएको अध्ययन अवलोकन भ्रमणमा गोर्खा च्याम्लिङ्गको व्यवसायीक गाई फार्म, तनहु बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्र, पोखराको बेगनास स्थित माछा अनुसन्धान केन्द्र, पिग पार्क, चितवन रामपुर स्थित नेपाल कृषि अनुसन्धान परिषद्को गाई अनुसन्धान कार्यक्रम लगायतमा भ्रमण गरिएको थियो ।
मकवानपुर जिल्लामा रहेर व्यवसायीक रुपमा बाख्र पालन, भैसी पालन, गाई पालन, माछा पालन कुखुरा पालन व्यवसायमा संलग्न रहेका किसान र कृषि पत्रकारीतामा कलम चलाउँदै आएका पत्रकारहरु समेतको सहभागीता रहेको अवलोकन भ्रमण धेरै उपलब्धि पूर्ण रहेको मकवानपुरगढी गाउँपालिकाका गाई पालक किसान नरेन्द्र लम्सालले बताए ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. ध्रुब डीसीका अनुसार व्यवसायीक किसानलाई भ्रमणबाट सिकाइ बढाउने र अझै राम्रो गर्ने हौसला प्रदान गर्ने लक्ष्यले अवलोकन कार्यक्रम गराइएको थियो ।
‘समय समयमा गोठ र प्रविधि फरक फरक भैरहन्छन्, यस्ता भ्रमणले नयाँ जोश र उपलब्धिसँगै सिप सिक्ने अवसर दिएको छ, आफूजस्तै किसान् भेट्न पाउँदा गौरव लागेको छ’ भ्रमणपछि आयोजित समिक्षा कार्यक्रममा गाई पालक किसान लम्सालले भने ।
सधैं काममा व्यस्त रहने कृषकहरुलाई समय समयमा यस्ता अवलोकन भ्रमण गराउनाले व्यवसायप्रति अझै लगाव बढाउन सकिने र आर्थिक समृद्धिमा टेवा पुग्ने अगुवा कृषक फेन्चु लामाले बताए । यसैगरी भिजन अफ मकवानपुर एग्रीकल्चर प्रा.लिका व्यवस्थापक रमेश डीसीले अवलोकन भ्रमणपछि धेरै अनुभव संगाल्ने र सिक्ने अवसर पाएको बताए । ‘हामी बंगुर पालन र माछा पालनको बारेमा जानकारी खोजिरहेका थियौ, धेरै सिक्ने अवसर प्राप्त भयो, साथै बाख्रा गाईको बारेमा सिक्ने अवसर पाएँ’ डीसीले भने ।
यसैगरी मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेर व्यवसायीक बाख्रा पालन गर्दै आएका अगुवा कृषक गुप्त सीं ठकुरीले कृषि कर्ममा लाग्न चाहनेको लागि अवलोकन भ्रमण अत्यन्तै उपलब्धिपूर्ण भएको बताए । सुपिङका गाई पालक कृषक अनिल पुडासैनीले अवलोकन भ्रमणबाट काममा पुनर्ताजगी प्राप्त भएको बताए । कृषकको लागि समय समयमा यस्ता अवलोकन भ्रमण आवश्यक भएको पुडासैनीले बताए ।
यसैगरी कैलाश गाउँपालिकाका कमान सिं घलानले पनि आफ्नो लागि अध्ययन भ्रमणले नयाँ ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको बताए । ‘आर्थिक अभावको कारण साना साना खोर बनाएर बाख्रा,कुखुरा पाल्ने जमर्को गरिरहेको थिए, खोर बनाउन नजान्दा युटुबको साहारा लिदै आएको थिए, अगुवा कृषकहरुले बनाएका खोरहरु पनि प्रत्यक्ष हेर्ने अवसर पाए,’ उनले भने ‘अब काम गर्ने हौसला मिलेको छ ।’
यसैगरी भैंसी पालक किसान समता खड्काले आफूले विगतमा गर्दै आएको पेशा नै फेर्ने मनस्थिती बनाएको तर, भ्रमणपछि पुरानै पेशालाई निरन्तरता दिने प्रेरणा मिलेको बताइन् । ‘भैसी बेचेर, किराना पसल राख्ने सोच बनाएको थिए, एक हप्ताको भ्रमणले मलाई आफूले पाल्दै आएको भैसी बेच्न हैन, अरु थप्न रहर जागेको छ’ उनले भनिन् ‘अब गोठ र भैसी थपेर अझै ठुलो स्केलमा भैसीपालन व्यवसाय गर्छु ।’
अध्ययन अवलोकन भ्रमणमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको अधिकृत छैठौ बिनिता सिंह, वीरबहादुर खत्री तथा सहायक स्तर पाँचौ प्रदिप सापकोटा, मकवानपुरगढी, थाहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाका अगुवा कृषहरुलगायत १८ जनाको सहभागीता रहेको थियो ।
अध्ययन टोलीले तनहु स्थित मोडेल डेरि फार्मका काशिनाथ भट्टराई, गोर्खा च्याम्लि· स्थित कामधेनु गाई फार्मका राजेन्द्रराज पन्त, बन्दिपुर स्थित बाख्रा अनुसन्धान केन्द्रका वैज्ञानिक दिपक अधिकारी, पोखराको बेगनास स्थित माछा अनुसन्धान केन्द्रका प्रमुख डा. मो. इकवाल हुसेन, तथा वरिष्ठ चिकित्सक बेचनप्रसाद यादब, संघीय सरकार समेतको सहयोगमा सञ्चालित कास्कीको सामूहिक पिग पार्कका सचिव मोहन थापा, नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राबिधिक प्रतिक हमालसँग अन्तरक्रिया गरेको थियो ।