मकवानपुर । बागमती गाउँपालिका खेलकुद बिकास समितीको आयोजनामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता -२०७७ आगामी चैत १३ गतेबाट सुरु हुने भएको छ । चेत २३ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा देश भरका विभिन्न स्थानबाट १० वटा क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
देशको ए डिभिजन क्लबको समेत सहभागिता हुने खेलकुद विकास समिति सदस्य तथा जनता माबिका प्रध्यानाध्यापक वसन्त राईले बताए । खेलसँगै समृद्धि जोडिएकोले व्यावसायिकहरुले पनि सहयोग र साथ दिन उनले आग्रह गरे ।
छोटो समयमा धेरै तयारी गरेर खेलको तयारी थालिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । नियमित खेलकुद प्रतियोगिता गरिदाँ खेलसँगै शिक्षा क्षेत्रको विकास हुने अध्यक्ष घलानले बताए । “गाउँपालिका भित्र रंगशालाको समेत आवश्यकता खड्किएकोले बढी चासो र आकर्षक आवश्यक छ” अध्यक्ष घलानले भने । आन्तरिक खेलाडीलाई मनोबल बढाउन र उत्कृष्ट खेलाडी बनाउने अवसर सिर्जना गर्न खेललाई निरन्तरता दिएको अध्यक्ष घलानले बताए ।
खेल क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको विकाससँग जोडिएकोले आफूहरूले नियमित खेल जारी राखेको बागमती गाउँपालिका खेलकुद विकास समिति सचिब प्रमोदकुमार राईले बताए । नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको बागमती गाउँपालिकामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुर स्थित जनता माबिको चौरमा खेल हुनेछ । दैनिक ७ देखि १० हजार जनाले खेलको अवलोकन गर्ने खेलकुद विकस समिति अध्यक्ष भीमबहादुर राई बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

कुलखर्च चौहत्तर लाख, पैतालिस हजार अनुमान गरिएको र मुख्य प्रायोजक बागमती गाउँपालिकाले ३५ लाख आर्थिक सहयोग गर्ने बागमती गाउँपालिका खेलकुद विकास समिति पुर्व अध्यक्ष ध्रुव थापाले बताए । अपुग रकमका लागि उद्योगी व्यापारी तथा अन्य गाउँपालिकासँग सहकार्य गरिने उनले बताए ।
प्रतियोगितामा ए पि एफ क्लब काठमाडौ,नेपाल पुलिस क्लब काठमाडौ, च्यासल युवा क्लब ललितपुर,संकटा युवा क्लब काठमाडौ, जाउलाखेल युवा क्लब ललितपुर, मछिनन्द्र क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही , नव जनता जागृती युवा क्लब सिमरा, थ्री स्टार युवा क्लब काठमाडौ, हेटौंडा ११ हेटौंडा सहभागी हुन सक्ने आयोजकले बताएको छ ।
स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उद्देश रहेको उनले बताए । यसभन्दा अगाडि सम्पन्न गरिएको तीन वटा खेलको अनुभवलाई समेट्दै खेल सम्पन्न गर्ने तयारीमा लागेको आयोजकले जनाएको छ ।
तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।