मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) केन्द्रीय अध्यक्ष थापाले राप्रपा फुट्नको लागि नभएको दाबी गरेका छन् । गृह जिल्ला मकवानपुरमा शनिबार हेटौंडा उपमहानगरपालिका राप्रपा नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले आउँदो दिनमा राप्रपा नफुट्ने बताएका हुन् । मेरो ४ वर्षे कार्यकाल नसकिदै फेरी पार्टीलाई एक गराउने काम भएको छ उनले भने अब फेरी पार्टी फुटाउने छैनौ भनेर दुई अध्यक्षलाई गिता छुन लगाएर कसम खुवाएको छु । त्यसकारणले गर्दा पार्टी फुट्दैन् ।’
अध्यक्ष थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताए छन् । उनले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै उक्त पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै सङ्कट आइपरेको आरोप लगाए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुका सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लिन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताए।
राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले प्रजातन्त्रको मूल्य–मान्यतालाई राजनीतिक दलले आत्मसात गर्न नसक्दा अहिले मुलुक सङ्कटको धरापमा फसेको बताए।
पार्टीका जिल्ला अध्यक्ष रामहरि न्यौपाने, जिल्ला महिला प्रजातान्त्रिक सङ्गठनका अध्यक्ष इन्दिरा न्यौपाने र राप्रपा हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपाले देशमा प्रजातान्त्रिक संस्कार र आर्दशलाई अवलम्बन गरेर पार्टीको सङ्गठनलाई दरिलो बनाउन जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।