मकवानपुर । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार, २०७७ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै यस बर्षकाे महालक्ष्मी साहित्य पुरस्कारबाट लम्साललाई सम्मान गरिएको हो ।
सामाजिक उत्तरदायित्व निभाउदैं बैकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै अाएकाे महालक्ष्मी साहित्य पुरस्कारको राशि वृद्धि गरी ५१ हजार बनाईएको छ । गत वर्ष २१ हजार १ रुपैयाँको रहेको पुरस्कारकाे राशी यस वर्षबाट वृद्धि गरिएकाे महालक्ष्मी वैंकले जनाएकाे छ । डा. लम्साललाई प्रमाण पत्र, नगद ५१ हजार राशि र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिएको हो । उच्च अदालत पाटन इजलास हेटौंडाका माननीय न्यायधीश शेषराज शिवाकोटीको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ बाट समाजका पूर्व अध्यक्ष तथा मकवानपुरे स्रष्टा कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट मकवानपुरका खोजकर्ता लेखक केदार प्रसाद न्यौपानेलाई सम्मान गरीएको थियो । सम्मान कार्यक्रमको समारोहमा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कविता सङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिएको थियो ।
समाजका अध्यक्ष माधब पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी विकास बैंकका सहायक कार्यकारी अधिकृत डलककुमार अधिकारी, साहित्यकार तुल्सी थापा, समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, बैंकका हेटौंडा शाखा प्रमुख शम्भु पराजुली, समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहाल, सदस्य हेमन्त ढुङ्गेल लगायतले मकवानपुरे साहित्यस्रष्टाहरूले आफ्ना भनाई तथा रचना वाचन गरेका थिए ।