मकवानपुर । हेटौंडामा विहीबारबाट सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगिताकाे उद्घाटन खेलमा रिगल हेटाैडा रिसाेर्ट मकवानपुर-११ ले विजयी सुरुवात गरेको छ । नवजनजागृती युवा क्लब सिमरालाई ४-१ गोल अन्तरले हराउँदै मकवानपुर-११ ले विजयी सुरुवात गरेको हो । हेटौंडाको बन बिज्ञान अध्ययन सस्थानको खेलमैदानमा भएको प्रतियोगितामा आयोजकले छिमेकी बारा जिल्लाको नव जनजागृती युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
मकवानपुरको लागि खेलको २८ औं मिनेटमा बिमल रानाले पहिलो गोल गरेका थिए । खेलको ३२ औं मिनेटमा सिमराका मोहित गुरुङ्गले गोल गर्दै खेललाई बराबरमा फर्काएका थिए । यसैगरि खेलको ५७ औं मिनेटमा रन्जन विष्ट,६६ औं मिनेटमा राना र ७७ मिनेटमा मकवानपुर–११ का अमिर श्रेष्ठले गोल गर्दै टोलिलाई ४–१ को जित दिलाए । खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै दुई गोल गरेका बिमल राना मगर म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।

राष्ट्रिय टोली पुर्व सदस्य देखि ‘ए’ डिभिजनका खेलाडीले भरिएको मकवानपुर ११ ले फराकिलो नतिजा ल्याएता पनि सिमराको टोलीले पहिलो हाफको केहि समय मकवानपुर ११ लाई दबाबमा राखेको थियो । गोल्डकपमा नेपाल आर्मि क्लब,नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही सहित १० टिम सहभागि रहेका छन् ।
प्रतियोगिताकाे तेस्रो संस्करण उद्घाटन धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल (धुर्मुस) ले गरेका थिए । प्रमुख अतिथि रुपमा प्रतियोगिताको उद्घाटन गर्न आएका गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाका निर्माणकर्ता तथा हास्यकलाकार धुर्मुसले खेल क्षेत्रलाइ माया गर्नेकाे अझै कमि रहेको बताएका छन् । उनले नेपालले खेल क्षेत्रको विकासका लागि पर्याप्त भौतिक संरचना नभएको कारण समस्या रहेको बताए । प्रतियोगिताका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको थियो ।

प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडीले बुलेट बाईक,नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ।
२०६२/०६३ को जनआन्दोलनका शहीदहरुको सम्झनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ सालमा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । हेटौंडामा जारी गोल्डकपको तेश्रो संस्करण विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् ।