मकवानपुर । नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।
बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतबारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।
सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको बैठकबाट बाहिरिएका नेता झलनाथ खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका छन् । नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।
यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको बताए । ‘सर्वोच्चको फैसला रिट निवेदकको मागदावी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला हो । ‘पार्टीको नाम सम्बन्धमा परेको रिटमा नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्यसभन्दा बाहिर गएर फैसला गरिएको छ’ उनले भने ।
रिट निवेदकको माग दावीअनुसार फैसला भएको भए स्वागत गर्ने भन्दै नेता श्रेष्ठले कुनै राजनीतिक दलको एकता गर्ने वा नगर्ने र एकीकृत पार्टी विभाजन गर्ने फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेको उनले बताए ।