मकवानपुर । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ । क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने तर्क अभियन्ताहरुको छ ।
राष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।
१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरिन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीलाई बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।
उपराष्ट्रपतिको शुभकामना सन्देश
दिवसकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरे ।
उनले नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उनले यस अवसरमा नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने सदीक्षासमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीकाे शुभकामना सन्देशः महिला र पुरूष बराबर भने पनि असमानता कायमै छ
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गरेका छन्।
एक सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आजको यस अवसरमा महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्दछु।’
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको पनि बताएका छन्।
उनले भनेका छन्, ‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ। देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ ।’
जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै रहेको प्रधानमन्त्री उनको भनाइ छ।
‘अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन्। यसले महिलामाथि दुर्व्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ। यसखाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ,’ उनले भनेका छन्।
यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।