काठमाडौँ । मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । लामो समयदेखि काठमाडौवासीले आश गरिरहेको मेलम्ची शनिवार सुन्दरी जल आइपुगेको हाे । पानी अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचतेर सुन्दरी जलमा पानी खसालेका हुन् ।
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको छ । गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
सुन्दरीजलमा आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।