मकवानपुर । विहीबार देशभरका अदालतमा बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको हो।
पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।
सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । यसअघि गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए
