मकवानपुर/ मकवानपुर जिल्लामा बुधबार ३ जनाको मृत्यु भएको छ । २ छुट्टाछुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने १ जनाले झुण्डीएर आत्त्महत्या गरेका छन् ।
मकवानपुरको बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको र पानीमा डुबेर एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज बुधबार खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो ।
वाइवाको मृत्युबारे थप अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी बताए ।
यसैगरी जिल्लाको बकैया गाउँपालिकामै बुधबार भएको ट्र्याक्टर दुर्घटनामा परी एक जना बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्र्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका १७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया ७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताए।
हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना ६ त ४५३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया ५ को तीनतलेमा दुर्घटना भएको थियो । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका १६ हटियामा एक व्यक्तिको शव फेला परेको छ। रुखमा पासो लगाएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शव सोही स्थानका अन्दाजी ५० वर्षीय रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बलामीको शब आफ्नै घरबाट ५० मिटर पूर्वमा बकाइनोको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा आज बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।