मकवानपुर । झरना साहित्यिक परिवारले २८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेकाे दोश्रो बकैया साहित्य महोत्सव ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै शनिबार समापन भएको छ । शुक्रबार र शनिवार २ दिन साहित्यिक महाेत्सव अायाेजना गरिएकाे थियाे ।
झरनाले यो वर्षको होमनाथ र टीकामाया प्रतिभा सम्मान पुरस्कार सुनसरीका अग्रज साहित्यकार प्राडा भीम उपाध्यायलाई प्रदान गरेकाे छ । नुरप्रसाद गौतमले स्थापना गरेका पुरस्कारकाे राशी १५ हजार ५ सय ५५ रुपैयाँको छ । यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिएको छ ।
झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिएको छ। अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिएको छ ।
यस्तै बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ भने तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिएको छ ।
बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कार खेम बोलखेलाई प्रदान गरिएको छ भने चन्द्र कुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिएको छ । यस्तै, स्थानीय प्रतिभाको रुपमा बासुरी बादक गोपाल घतानीलाई पनि सम्मान गरिएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजनामा बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको थियाे । बकैया–५ स्थित प्रभात मावि परिसरमा शुक्रबार र शनिबार दुईदिनका लागि आयोजना गरिएको साहित्य महोत्सवको पहिलो दिन बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले रचना वाचन गरेका छन् । विद्यार्थी सँगै कार्यक्रममा शिक्षकहरुले पनि रचना वाचन गरेका थिए ।
महोत्सवको पहिलो दिन नै पठन संस्कृतिको अवस्थाका विषयमा अन्तरक्रियाको आयोजना गरिएको थियो । अन्तरक्रियामा वक्ताको रुपमा बकैया गाउँपालिकाकाे महेन्द्र माविका सहायक प्रधानाध्यापक उद्धव सापकोटा, प्रभात माविकी शिक्षक लक्ष्मी जिम्बा, कालीदेवी माविका विद्यार्थी निराजन नेपाल, समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र हेटौंडास्थित नवोदय माविकी छात्रा इलिशा पराजुली रहेका थिए ।

यस्तै महोत्सव अन्तर्गत दोश्रो दिन शनिबार स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन भएको थियो । शनिबार कविता र गजलरमुक्तकका श्रृङ्खला अन्तर्गत मकवानपुर र बाहिरका युवा साहित्यकारहरुले रचना वाचन गरेका थिए । विर्खे अन्जान, सुवास खनाल, छवि अनित्य, पुरुषोत्तम आचार्य, यश लामा, मुना अर्याल, राजकुमार लामिछाने, मिनप्रसाद लामिछाने, सविता तिमल्सिना, रुपा थापाले कविता वाचन गरेका थिए । हरि पौड्याल, धर्मराज स्याङतान, विशाल अधिकारी, सुन्दर कार्की, डिवि बर्तौला, भवानी तिमल्सिना, हिरा शाक्य र बगेकी गंगाले गजलरमुक्तक वाचन गरेका थिए ।