मकवानपुर / उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशले पर्यटन प्रबर्द्धनको लागि प्रदेशको ३ वटा गढीमा १ सय ३० किलोमिटर साइकल यात्रा कार्यक्रम गर्ने भएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर साइकल यात्राबारे जानकारी गराएको हो ।
फागुन २२ गते मकवानपुरगढीबाट यात्रा सुरुगरी २४ गते सिन्धुलिगढीमा झण्डोत्तोनल गरि साइकल यात्रा समापन गरिने मन्त्रालयका सचिव डा शिन्धुप्रसाद ढुंगानाले बताए । साईकल यात्राको माध्यमबाट नयाँ गन्तव्यहरुको खोजि हुने तथा ऐतिहासिक पुरातात्त्विक गढिको सम्बर्द्धन,पहिचान, गन्तव्यको रुपमा विकास गर्नमा सहयोग पुग्ने मन्त्रालयको सचिब ढुङ्गानाले बताए ।
नमुना पर्यटन क्षेत्र बनाउने योगदान पुर्याउन मन्त्रालयले साइकल यात्राको क्रममा जोडिने स्थानीय तहहरूसँग समन्वयको लागि अनुरोध गरेको छ । मन्त्रालयले यस कार्यक्रमको लागि ११ लाख ५० हजार बार्षिक कार्यक्रम बाट छुट्याइएको बताईएको छ । बागमती प्रदेशमा रहेको ९ मध्ये ३ वटा गढी छुने गरि ट्रयाक तयार भएकोले हाल ३ वटा गढीको मात्रै यात्रा गरिने छ । साइकल यात्राबाट कुल १ सय ३० किमि यात्रा गरिनेछ भने कम्तीमा १ सय ७० जना साइकल यात्रीहरु सहभागी हुनेछन् ।
यसैगरी आयोजक र सहयोगी गरि अन्य ६० जना सहभागी हुने मन्त्रालयका सूचना अधिकृत नवराज पुडासैनीले बताए । साइकल यात्रा कार्यक्रमबाट गढीहरुको पहिचान तथा प्रबर्द्धनमा वृद्धि हुने, आन्तरिक पर्यटनमा वृद्धि हुने, गढीलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज हुने सूचना अधिकृत पुडासैनीले बताए ।