मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा वडास्तरीय मेयरकप सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–४ को हुप्रचौरमा सुरु भएको हो । मेयर कपको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताएका थिए । पौडेलले गौरिटार रंगशालाको निर्माण काम भईरहेको बताएका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले १ नम्बर वडालाई ४–० गोलअन्तरले पराजित गरेको छ। विजेता टोलीको तर्फबाट ललित चौलागाईं र सुमित प्रधानले दुई/दुई गोल गरेका थिए । प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ र उपविजेताले नगद एकलाख रुपैयाँ प्राप्त गर्नेछन् । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सर्वोत्कृट खेलाडी र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत विधागत रुपमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

हेटौंडाका नगर प्रमुख हरिबहादुर महतको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबल संघ मकवानपरका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाहीलगायतको आतिथ्यता थियो ।