मकवानपुर । मकवानपुर प्रहरीले २० किलो लागुऔषध गाँजासहित एकजनालाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–३, लेवटबाट मंगलबार पर्सा जिल्ला बीरगन्ज महानगरपालिका–३२ का १९ वर्षीय सञ्जय महतोलाई लागूऔषध गाँजासहित पक्राउ गरिएकाे हाे ।
शंकास्पद अवस्थामा बीरगन्जतर्फ जाने गाडी कुरिरहेका महतोको साथमा रहेको झोला चेकजाँच् गर्दा लागुऔषध गाँजा २० केजी बरामद भएको प्रहरीले जनाएकाे छ । महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
यस्तै मकवानपुर प्रहरीले मंगलबार नै एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७५ साल भदौ २५ गते चेक अनादर मुद्दामा दोषी ठहर भई फरार भएकी हेटौंडा–१ की ५५ वर्षीया कमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता रानाले जानकारी दिए ।