मकवानपुर । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको सम्झनामा शनिवार २६ औं जनयुद्ध दिवस मनाइएको छ । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।
दिवसकाे वसरमा मकवानपुर जिल्लाकाे जनयुद्धका शहिद रूद्र पाख्रिनकाे शालिकमा माल्यार्पण गरीएकाे छ भने सम्मान कार्यक्रम समेत गरी मनाइएकाे छ । कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको शहिद रुद्र बाटिका स्मृति पार्कमा शहिद रुद्र पाख्रीनको शालिकमा माल्यापर्ण तथा सम्मान कार्यक्रम गरी मनाइएको हो । दिवस कार्यक्रम नेकपा प्रचण्ड माधव समूह मकवानपुरले आयोजना गरेको थियो ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपाका केन्द्रिय नेता बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेतृ मान कुमारी पाख्रीन, बालकृष्ण चौलागाई, नेता बद्री लम्साल लगायत नेकपाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ ९हाल बारपाक सुलिकोट गापा-८० मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ।
जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ। जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टी संघीय परिषद्को अध्यक्ष भएका छन् । मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्। विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ।