मकवानपुर । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स प्रक्रियालाई खुकुलो बनाउन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ । अब सवारी अनुमति पत्रको लागि लिखित परिक्षा पास गर्नेले १८ महिनासम्म प्रयोगात्मक परिक्षा ट्रायल दिन पाउने भएका हुन ।
विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको ३ महिना (९० दिन) भित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो ।
विभागका प्रवक्ता लाेकनाथ भुसालद्वारा एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।
योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म रि-ट्रायल दिन पाउने भएको छ।
यस्तै नयाँ चालक अनुमति पत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । गत वर्ष चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमति पत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झन्डै १० महिनासम्म अनुमति पत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका प्रवक्ता भुसालले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उनले भने, “सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।”
गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा भुसालले जानकारी दिए । “अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्”, उनले भने, “फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।”