चितवन। हाम्रो मझेरी साहित्य प्रतिष्ठानले आफ्नो २२औं वार्षिकोत्सव मनाएको छ। विगत दुई दशक देखि नेपाली साहित्यको क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको प्रतिष्ठानले शनिबार भरतपुरमा विशेष कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो। समारोहमा नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान र कृतिहरूको विमोचन गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको सभापतित्वमा आयोजित कार्यक्रममा करिव १ दर्जन स्रस्टा सम्मानित भए। गजल साहित्यमा योगदान दिएका नवलपरासीका गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीलाई ‘हाम्रो मझेरी साहित्य शिरोमणि सम्मान-२०७७’ प्रदान गरियो भने चितवनका पत्रकार एवम् कुमाता कथासङ्ग्रहका लेखक वसन्त पराजुलीले ‘हाम्रो मझेरी विशिष्ट पत्रकारिता सम्मान – २०७७’ प्राप्त गरे। त्यस्तै ‘हाम्रो मझेरी साहित्य सम्मान -२०७७’बाट चितवनकी गायत्री श्रेष्ठ, काभ्रेका सूर्यप्रसाद लाकोजू र मकवानपुरका दिनेशकुमार शर्मा न्यौपाने विभुषित भए।
त्यस्तै चितवनकी कवि सामना पहाडले ‘सिर्जनशील नारी प्रतीभा सम्मान-२०७७’, चितवनका गजलकार रमेश प्रभातले ‘मोतीराम भट्ट गजल प्रतीभा सम्मान-२०७७’, बर्दियाकी स्रस्टा अन्जु सापकोटा अनुले ‘सिर्जनशील नारी साहित्य सम्मान-२०७७’, पाल्पाका स्रस्टा भोजराज भट्टराईले ‘हाम्रो मझेरी साहित्य प्रतीभा सम्मान-२०७७’ र सिन्धुलीकी स्रस्टा अस्मिता दाहालले ‘सिर्जनशील नारी युवा प्रतीभा सम्मान-२०७७’ सम्मान प्राप्त गरे। चितवनकै गीतकार भुवन शर्मा कँडेलको नाम पनि सम्मानित हुनेहरूको सूचीमा छ। कँडेलले ‘हाम्रो मझेरी गीतकार अवार्ड-२०७७’ प्राप्त गरेका हुन्।
कार्यक्रममा ९ वटा कृति पनि विमोचित भए। प्रतिष्ठानको मुखपत्र ‘हाम्रो मझेरी साहित्यिक पत्रिका’को ५८औँ अंकसँगै प्रतिष्ठानको नियमित प्रकाशन संयुक्त गजलसङ्ग्रह हैसियतको भाग-६ पनि विमोचन गरिएको छ। साथमा अर्को संयुक्त गजलसङ्ग्रह ‘उडान’ पनि सोहि कार्यक्रममा विमोचन गरियो। विमोचन गरिएका अन्य पुस्तकहरूमा चेतनाथ रुवालीको ‘आमा’, पुष्प अधिकारी अञ्जलोको ‘हरियो ऐना’, वसन्तमोहन अधिकारीको ‘कृष्ण’ किशन पौडेलको ‘कहर’ र रामजी रानाभाटको गजलसङ्ग्रह ‘उज्यालो जीवन’ गजल सङ्ग्रहरू थिए भने रामजी रानाभाटकै कवितासङ्ग्रह ‘उज्यालो मन’ पनि विमोचन गरिएको छ।
चितवन, नवलपरासी, मकवानपुर, सिन्धुलीसहित मुलुकका विभिन्न जिल्लाहरूबाट कार्यक्रममा उपस्थित स्रष्टाहरूको रचनावाचनसँगै कार्यक्रम समापन भएको थियो।