मकवानपुर/बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा कार्यक्रमको तयारीमा लागेको मकवानपुरको बकैया गाउँपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले अनुमति प्रदान गरेको छ ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाका लागि औपचारीक रुपमा अनुमति प्रदान गरेको हो । आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बसेको स्थानीय तह समन्वय बैठकमा गाउँपालिकालाई जिल्लाको दोस्रो बालमैत्री अवलम्बन गर्ने स्थानीय तह घोषणाको अनुमति प्रदान गरिएको हो ।
जिसस प्रमुख खुलालले गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेलगायत टोलीलाई बालमैत्री घोषणाको लागि योग्य भएको प्रमाणपत्र प्रदान गरे । गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिमका सुचकहरुमा घोषणा योग्य उपलब्धी हासिल गरि बालमैत्री स्थानीय तह कार्यविधि २०७० बमोजिमको प्रकृयाहरु पुरा गरेको अनुगमनबाट पुष्टि भएको हुँदा जिल्लाको दोस्रो बालमैत्री स्थानीय तहको रुपमा घोषणाका लागि अनुमति प्रदान गरिएको जिसस प्रमुख खुलालले बताए ।
आगामी विहीबार (माघ २९ गते) बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गर्न लागिएको छ । घोषणापछि मकवानपुरको बकैया गाउँपालिका जिल्लाको दोस्रो बालमैत्री स्थानीय तह बन्नेछ । मकवानपुरको मनहरी गाउँपालिका एक वर्ष अगाडि बालमैत्री घोषणा गरिसकिएको छ ।
प्रमाणपत्र प्रदान गर्दै खुलालले बालमैत्री घोषणाको सफलताको शुभकामना व्यक्त गरे । बालमैत्री स्थानीय शासनको निरन्तरतासंगै समृद्ध बकैया निर्माणको अभियानमा लाग्न उनले अनुरोध गरे ।
‘गाउँपालिकाले सबै प्रकारको तयारी अन्तिम चरणमा पु¥याछ, यसबारे अनुगमनमा सहभागी अवथा विश्लेषण् गरिदिनु भएकोमा धन्यवाद’ गाउँपालिका अध्यक्ष खनालले भने । कार्यक्रममा गाउँपालिकालाई प्रमणपत्र प्राप्तपछि आफूहरुलाई कदम झनै उत्साही बनाएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताइन् ।
यस्तै बैठकले शहीद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने शहीद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताका लागि स्थानीय तहले घोषणा गरेको रकम उपलब्ध गराउने निर्णय गरेको हो । गोल्डकप सञ्चालनका लागि यसअघि नै जिल्लाका गाउँपालिकाहरुले ५ लाखका दरले र नगरपालिकाले १० लाख तथा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएअनुसार रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताए ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, उपमेयर खड्ग गोपाली, बकैया गाउँपािलका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोत्तान, उपाध्यक्ष सुकुमाया थिङ्, मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाई, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपािलका उपाध्यक्ष पाबर्ती राना, बागमती गाउँपािलका उपाध्यक्ष धनमाया स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्य देवराज रिमाललगायतको सहभागिता थियो ।