मकवानपुर/ हेटौंडामा सम्पन्न भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधी आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ । आज शुक्रबार भएको फाइनलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरलाइ २–१ गाेल अन्तरले हराउदै उपाधी चुमेको हो ।
प्रतिष्पर्धात्मक भएको फाईनल खेलमा सेन्ट्रल कलेज बीएफसी का रन्जित आले मगरले ५७ मिनेटमा गोल गरेर अग्रता लिएता पनि ६० मिनेटमा विजय युथका सन्त गुरुङले गरेको गोलले बराबरीमा ल्याएको थियो । यस्तै ६६ मिनेटमा सेन्ट्रल कलेज बीएफसी भरतपुरका खेलाडीले डि बक्समा बलले हात छुँदा विजय युथले पेनाल्टी पाएको थियो ।
विजय युथको लागि रुपेश केसीले गरेको पेनाल्टी नै आयोजकको उपाधी गोलको रुपमा परिणत भएको हो । प्रतियोगिताको उपाधी विजेताले विजय युथ क्लब हेटौंडाले नगद ३ लाख रुपैयाँ र उपविजेतामा चित्त बुझाएको भरतपुरले १ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा उपाधी जितेको विजय युथ क्लबका गोल किपर अशोक बराल, वेस्ट डिफेन्डरमा विजय युथकै सुरज विष्ट, वेस्ट मिडफिल्डरमा सोहि टिमका विश्व अधिकारी, उच्च गोलकर्तामा उपविजेता सेन्ट्रल कलेज बीएफसी भरतपुरबाट खेलेका विदेशी खेलाडी जोन क्लोरी, वेस्ट फरवार्डमा विजय युथका विमल राना र वेष्ट कोचमा विजय युथकै सुबिन घिमिरेका भएका छन् ।
विधागत उत्कृष्ट हुनेहरुलाई नगद ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र पाएका छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विजय युथ क्लबका फरवार्ड रुपेश केसीले १५ हजार नगद सहित मेडल र प्रमाण पत्र पाएका हुन् । विजय युथ क्बल हेटौंडाले पहिलो चोटी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता १६ माघबाट सूरु भएको थियो ।