मकवानपुर । झरना साहित्यिक परिवारले दाेस्राे बकैया साहित्य महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकार, पत्रकारलाई सम्मान गर्ने भएको छ । गतवर्षबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन यस बर्ष पनि आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
बकैया गाउँपालिका–५ श्रीपुरमा रहेको प्रभात माविमा फागुन १४ र १५ गते महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए । महोत्सवमा पहिलो दिन फागुन १४ गते शुक्रबार नवसर्जक (बालबालिका विशेष) रचना वाचन, पुरस्कार वितरण एवम् बहसमूलक कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य, जग्गा दाताहरूलाई सम्मानसँगै साहित्यिक रचना वाचन तथा गायन कार्यक्रम रहेको गौतमले जानकारी दिए ।
साहित्यिक महाेत्सवमा यसवर्ष होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७७ सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम खतिवडालाई प्रदान गरिने छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी रहेको पुरस्कारका संस्थापक नुरप्रसाद गौतम हुन् रहेका अध्यक्ष गाौतमले जानकारी दिए ।
यस्तै, बाबुलाल–भोजमाया प्रतिभा सम्मान–२०७७ मकवानपुरे अग्रज कवि आर.आर. चौलागाईँ प्रदान गरिने भएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको यस पुरस्कारका संस्थापक विनोद सुवेदी रहेका छन् । शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान– २०७७ अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । काठमाडौँ निवासी पौडेललाई प्रदान गर्न लागिएको ११ हजार १ सय ११ राशीको पुरस्कारका संस्थापक रमेशमोहन अधिकारी हुन् ।
यसैगरी, खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान–२०७७ नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने छ । अर्पण र दर्पण पराजुलीले स्थापना गरेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७७ मकवानपुरे साहित्यकार रुकु कार्की प्रदान गरिने भएको छ । राजन दङ्गालले स्थापना गरेको उक्त पुरस्कारको राशी पनि ५ हजार ५ सय ५५ रुपैया रहेको छ ।
यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७७ मकवापुर बकैयाका मनहरी लामिछानेलाई प्रदान गरिने सचिव उपासकले बताए । ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरस्कारका संस्थापक तुलसी गिरी रहेका सस्थाले जनाएकाे छ .
झरना–बकैया पत्रकारिता पुरस्कार–२०७७ बाट रौतहटका खेम बोलखेलाई प्रदान गरिनेछ । पुरस्कार संस्थापक रहेको बकैया गाउँपालिका रहेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । यसैगरी, झरना–बकैया नवप्रतिभा पुरस्कार–२०७७ बाट बकैयाका दीपशिखा घिमिरेलाई प्रदान गरिने छ । पुरस्कार संस्थापक चन्द्रकुमार राई रहेको उक्त पुरस्कारको राशी २ हजार ५ सय ५ रुपैया रहेको झरनाले जनाएको छ ।
झरना २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था हो । यसले मासिक साहित्य शृङ्खला सञ्चालन, ‘झरना’ नामक अर्धवार्षिक पत्रिका प्रकाशन, प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरू प्रकाशन लगायत विविध साहित्यको क्षेत्रमा विविध गतिविधिहरू गरिरहेको छ ।
स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमहरू गर्ने र विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरू सञ्चालन गर्दै आएको छ । अहिले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत पछिल्ला ६ वर्षमा झरनाले ५० भन्दा बढी विद्यालय र कलेजहहरूमा पुगेर १ दिने काव्य प्रशिक्षण सञ्चालन गर्दै बाल साहित्य समितिहरू गठन गरिसकेको छ । नवसर्जकहरूमा लेखन र पठन संस्कृतिको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष गाैतमले जानकारी दिए ।
यसैबीचमा झरना साहित्यिक परिवार मकवानपुरले बकैया–५ मा आफ्नै भवन तथा पुस्कालय सञ्चालन प्रयोजनार्थ २ कठ्ठा जग्गासमेत गाउँपालिका कार्यालयबाट प्राप्त गरेको छ ।