मकवानपुर । मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था आज मंगलबार एकै दिन शिलान्यास हुने भएकाे छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले मंगलबार मकवानपुरसहित ३ जिल्लामा १२ वटा स्वास्थ्य संस्था शिलान्यास हुने जनाएकाे हाे ।
कार्यालयका प्रमुख तुलसीराम खर्बुजाले मकवानपुरका ४, नवलपुरका ४ र परासी जिल्लाका ४ गरी १२ वटा स्वास्थ्य संस्थाको शिलान्यास हुने जानकारी दिए । भुकम्पबाट क्षति पुगेका मकवानपुरको थाहा नगरपालिका ११ को टिष्टुङ स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका ८ को खैराङ स्वास्थ्य केन्द्र, बकैया गाउँपालिका २ को धियाल स्वास्थ्य चौकी र भीमफेदी गाउँपालिका ३ को निबुवाटार स्वास्थ्य चौकीको शिलान्यास आज मंगलबार गरिने प्रमुख खर्बजाले बताए ।
टिष्टुङ र खैराङ गरी ७ करोड ४१ लाख ९७ हजार ११ रुपैंया, धियाल र निबुवाटारमा ३ करोड ७ लाख ८५ हजार ८ सय १० रुपैंयाको लागतमा भवन निर्माण हुने उनले जानकारी दिए । टिष्टुङको भवन राष्ट्रियसभा सदस्य रामनारायण विडारी र थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धियालको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटारको भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास कार्यक्रम रहेकाे छ ।
त्यसैगरी, नवलपुर जिल्लाको कुमारवर्ती स्वास्थ्य चौकी कावासोती नगरपालिका, नारायणी स्वास्थ्य चौकी मध्यविन्दु नगरपालिका, गैडाकोट स्वास्थ्य चौकी गैडाकोट नगरपालिका, देउराली प्राथमिक स्वास्थ्य चौकी हुप्सेकोट गाउँपालिका, परासी जिल्लाको पञ्चनगर स्वास्थ्य चौकी बर्दघाट नगरपालिका, हुकई स्वास्थ्य चौकी रामग्राम नगरपालिका, रामनगर स्वास्थ्यचौकी सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा रहेको उनवच स्वास्थ्य चौकी पनि मंगलबार नै शिलान्यास हुने कार्यालय प्रमुख खर्बुजाले जानकारी दिए ।
प्रमुख खर्बुजाका अनुसार अनुसार यी सबै स्वास्थ्य संस्था भवन १५ देखि १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी टेण्डर सम्झौता भएको छ ।