मकवानपुर । हेटाैडामा विगत ११ वर्षदखि सञ्चालनमा रहेकाे रेडियो मकवानपुर र हेटौंडा-२ मा रहेको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्थाले आज शुक्रबारबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सहकारीको २३ औं स्थापना दिवस तथा सहकारी सस्थाद्वारा सञ्चालित रेडियोको ११ औं बार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि सप्ताहव्यपी कार्यक्रम गर्न लागिएको हो ।
शुक्रबार शहीद दिवसको सन्दर्भमा ‘शहीद’ शीर्षकमा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीबीच कविता प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २/२ हजार पुरस्कारको व्यवस्था गरिएकाे रेडियाेका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिएकाे छ ।
शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोगको कार्यक्रम रहेको रेडियो मकवानपुरका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।
१९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुईघरलाई खरको छानामुक्त गर्न जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण कार्यक्रम, २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने पराजुलीले बताए । समापन कार्यक्रममा समाजमा उत्कृष्ट कार्य गरी योगदान पु–याएका दुईजनालाई नगदसहित सामुदायिक सम्मान, रेडियोका एक उत्कृष्ट कर्मचारीलाई सम्मान, रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान तथा दिव्यतारा सहकारीका संस्थापक शेयर सदस्यहरुलाई सम्मान गरिने अध्यक्ष पराजुलीले बताए ।
सहकारीले गरिरहेका सामाजिक क्रियाकलाप जानकारी गराउँदै सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सहकारीले दुईवटा उद्योग सञ्चालनको तयारी गरिरहेको साथै महिलाका लागि सहुलियत कर्जा प्रदान गर्दै आएको जानकारी दिइन् ।