मकवानपुर । नेपालमा कोभिड १९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार देशभरि ९ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए ।
बुधबार भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।
जसमध्ये प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप प्राप्त गरेका छन् ।
सरकारले ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । गत माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो । खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताए ।
मन्त्रालयले खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबै व्यक्ति तथा सेवा प्रदायकहरुको स्वतस्फूत र उल्लेख्य सहभागिताका लागि धन्यवाद दिएको छ ।
यसै गरी हेटौँडामा बुधबार १ सय १३ जनाले खोप लगाएको हेटाैडा उपमहानगरपािलकाका जनस्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले बताए । मकवानपुरको लागि २ हजार २ सय ८९ जनाको लागि पहिलो चरणमा भ्याक्सिन उपलब्ध भएको उनको भनाई रहेको छ । बुधबार खोप लगाउनेहरु अधिकांश स्वास्थ्यकर्मी रहेका छन् ।