मकवानपुर । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले बागमती प्रदेशका पालिकाहरूकाे प्रशासकनीक र प्राविधिक तर्फ अधिकृत स्तर छैठौँ तहका १ सय ७४ कर्मचारीका माग गरेकाे छ । आयोगकाे हेटाैडा कार्यालयले माघ १२ गते साेमबार उक्त पदमा दरखास्त आह्वान गरेको छ । आयोगले एक सय ४९ जना खुला तर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको हो ।
बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले अधिकृत स्तरका कर्मचारीका लागि पहिलोपटक विज्ञापन गरेको हो । यसअघि चौथो र पाँचौं तहका कर्मचारीका लागि विज्ञापन गरेको थियो । प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोग हेटौंडाले जनाएको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग गरे पछी ती सङ्ख्यामा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिए।
आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको छ । लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको छ ।