मकवानपुर/कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज विहीबार नेपाल ल्याइदै छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश २ का ६ वटा जिल्लामा खोप वितरण गरिने छ । खोपको भण्डारण व्यवस्था सबै जिल्लामा नभएकोले हेटौंडा भण्डारणबाट खोप व्यवस्थापन हुने विभागले जनाएको छ ।
हेटौंडामा २ हजार २ सय ५० लिटर भण्डारण क्षमताको चिस्यान भएकाेले साेही मात्रामा भण्डारण गरिनेछ । बागमतीका अन्य १० जिल्लाका लागि भने काठमाडौंको भण्डारणबाट खोप पठाइनेछ ।
प्रदेश १ को विराटनगरस्थित भण्डारमा पठाइएको खोप प्रदेशका सबै जिल्लाका साथै प्रदेश २ को सप्तरी र सिरहामा पनि वितरण गर्नुपर्ने हुन्छ । विभागका अनुसार भ्याक्सिन चिस्यान भण्डारण विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको छ । प्रदेश २ मा भण्डार छैन ।
कर्णालीमा पनि आफ्नै चिस्यानयुक्त भण्डारण छैन तर विगतदेखि नेपालगन्जबाट वितरण
गरिँदै आएको छ । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमताको भण्डार छ । गण्डकी प्रदेशको पोखरामा ९ हजार ७ सय भण्डारण क्षमता छ । यहींबाट प्रदेशका सबै जिल्लामा खोप पठाइनेछ । लुम्बिनी प्रदेशको बुटवलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । त्यहींबाट जिल्ला अस्पतालहरूमा खोप पठाइनेछ। सुदूरपश्चिम प्रदेशको धनगढीमा ९ हजार ७ सय लिटरको भण्डारण क्षमतारहेको विभागले जनाएको छ ।
नेपाल सरकारले सरकारले भारतद्वारा उपलब्ध गराएको खोप पाँच दिनभित्र देशको सबै जिल्लाका भण्डारणसम्म पु-याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । ‘कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन्। ‘स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।
आज विहीबार बिहान ११ः४५ बजे एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने छ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरण जडान गरिएको दुईवटा ट्रक तयारी अवस्थामा राखिएको छ ।
‘कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार भएको छैन’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने, ‘बिहीबार जिल्ला पठाउने विवरण तयार भयो भने शुक्रबार बिहान खोप प्रदेशको भण्डारण स्थलमा पठाइसक्छौ ।’ जिल्लागत विवरण बिहीबार साँझसम्म तयार भइसक्ने मन्त्री त्रिपाठीले बताए ।
केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र जिल्लास्थित भण्डारण स्थलमा पु-याउने योजना रहेको विभाग स्रोतले जनाएको छ । ‘बढीमा ५ दिनभित्र जिल्लामा खोप पुगिसक्नेछ’ स्रोतले भन्यो । खोप लगाउन खटिने व्यक्तिलाई तालिम दिन भने अझै बाँकी छ । खोप लगाउने स्थानमा पु-याउनुपर्ने आवश्यक सामान पनि पठाइएको छैन ।
यस्तो प्रकृया बाँकी रहेकोले सर्वसाधारणले खोप लगाउने समय भने अझै हप्तादिनबढी समय लाग्ने अनुमान गरिएको छ ।
विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले माथिल्लो तहका कर्मचारीलाई तालिम चलिरहेको जानकारी दिए । ‘खोप वितरण, ढुवानी, भण्डारण, स्वास्थ्यकर्मीको तालिम र सामग्रीहरू वितरण एकसाथ गर्छौं,’ उनले भने । विभागले बुधबार काठमाडौं उपत्यकाका अस्पताल प्रमुखहरूसँग कसरी व्यवस्थित रूपमा खोप लगाउन सकिन्छ भन्ने छलफल गरेको थियो ।
उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिनेलाई जिल्ला अस्पतालबाट खोप दिइनेछ । विभागले यसअघि नै स्थानीय तहमार्फत खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिसकेको छ । यसकै आधारमा मन्त्रालयले खोप पठाउन लागेको हो। जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
उपत्यकाबाहिर जिल्ला अस्पतालमा एउटा बुथ कायम हुने निश्चित भए पनि काठमाडौं, भक्तपुर र ललितपुरमा भने कति बुथ कुन–कुन अस्पतालमा रहने निश्चित नभएको गौतमले बताए । खोप लगाउन आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् । कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ९ लाख ११ हजारलाई पहिलो चरणमा खोप दिने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
भारतले अनुदानमा उपलब्ध गराएको खोप एकै पटक लगाउने कि निश्चित समूहलाई दुवै डोज लगाउने भन्ने टुंगो लाग्न बाँकी रहेको डा. पोखरेलले बताए । नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिनेहरू, एम्बुलेन्स चालक र स्वयंसेविकालाई लगाएर बाँकी रहेको खोप निजामती कर्मचारीलाई लगाउने कि वृद्धवृद्धालाई भन्ने निर्णय भइसकेको छैन ।
भन्सार विभागले नेपाल भित्रिने खोपलाई भन्सारमा जाँचपास सहज बनाउन छुट्टै इकाई खडा गर्ने भएको छरु। खोप सामग्रीको जाँचपाससम्बन्धी जानकारीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छुट्टै इकाई खडा गरी कर्मचारी व्यवस्थापन गर्न लागेको हो । विभागमा समेत तत्काल समस्या समाधान गर्ने कार्यदल रहनेछ।
‘खोप पैठारीपूर्व नै कागजात उपलब्ध भएमा इकाईमार्फत जाँचपासपूर्वको प्रक्रिया मिलाइनेछ,’ विभागले स्वीकृत गरेको खोप सामग्रीहरू शीघ्र भन्सार जाँचपासका लागि अपनाइने प्रक्रियामा भनिएको छ, ‘कागजमा खोपको परिणाम तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जाँचपास गरिनेछ।’ खोप ल्याउने व्यक्ति वा संस्थाले औषधि व्यवस्था विभागबाट प्राप्त गरेको अनुमति प्रमाणपत्रलगायतका कागज पेस गर्नुपर्ने हुन्छ । कान्तिपुरकाे सहयाेगमा