मकवानपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणकाे लागि खुला गरेकाे ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेकाे छ ।
बैंकले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर गत माघ २ गते शुक्रबारदेखि निष्काशनमा ल्याएको छ। त्यस मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सोमबार साँझ ५ बजेसम्ममा ११ लाख ७७ हजार ९ सय २० वटा आवेदनबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरिद आवेदन सो बराबरको शेयर माग भएको हो। उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.८७ गुणा बढी हुन आउछ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ। पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ। अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।
यस्तै बैंकको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलहरुमा भिडभाड उत्तिकै देखिएको छ। बैंकको शेयर खुल्नुभन्दा केहि दिन अघिदेखि नै सुरु भएको यो भिड अझै कम भएको छैन्।
बैंकहरुमा सिआरएन नम्बर लिने र शेयर भर्नेहरु बढी देखिन्छन भने क्यापिटलहरुमा डिम्याट खाता खोल्नेहरुको भिड बढी छ। शेयर खुलेको पहिलो दिन नै बैंकहरुमा शेयर खरिदको लागि आवेदन दिनेहरुको भिड बढेको थियो। डिम्याट खाता खोलेका तर मेरो शेयर लिइनसकेकाहरुले बैंकबाट आवेदन दिँदा बैंकमा भिडभाड बढेको हो।
पछिल्लो समय औसतमा दैनिक १० हजार भन्दा बढीले डिम्याट खोलिरहेको सिडिएससिको तथ्याँकले देखाउछ। सामान्य अवस्थामा बैंकहरुले तत्कालै सिआरएन नम्बर दिने गरेकोमा अहिले भिडभाढ बढी भएकोले केहि बेंकहरुले सिआरएन सम्बर लिन समेत केहि दिन लाग्ने बताउन थालेका छन्।