मकवानपुर / प्लान नेपालको आर्थिक सहयोग तथा राडो नेपालको सामाजिक सहजिकरणमा सञ्चालित समावेशी सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रमको अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका नगर शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि उद्वब दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थितीमा कार्यक्रम लागु भएका विद्यालयहरुमा मंगलबार अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१२ पान्तले स्थित बुद्ध माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका–१४ बदेलधाप स्थित सुप्रभात आधारभूत विद्यालय र हेटौंडा उपहमानगरपालिका–५ स्थित बालज्योती माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा बुद्धमाविका प्रध्यानाध्यापक किसन थापाले समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्ययक्रम अन्तरगत लागु भएका कार्यक्रमले विद्यार्थीहरुको सिकाइ उपलब्धीमा सकारात्मक सुधार आएको बताए । विद्यालयमा प्रशोधित शुद्ध पानीको व्यवस्था गर्न समस्या भइरहेकोमा संस्थाले युरोगार्डको व्यवस्था गरेपछि विद्यार्थी, शिक्षकहरु गरी झण्डै ८ सयजना लाभान्वित भएको प्रध्यानाध्यापक थापाले बताए ।

बुद्धमाविमा विद्यार्थी तथा शिक्षकको लागि शैक्षिक भ्रमण, अतितिक्त क्रियाकलाप, सरसफाइको सामग्री, छात्राहरुको लागि महिनावारी भएको समयमा आराम गर्ने कक्षाको व्यवस्थापनमा सहयोग गरिएको कार्यक्रम संयोजक राजु राउतले बताए ।
यसैगरी सुप्रभात आधारभुत विद्यालय प्रध्यानाध्याकप सीता तिवारीले संस्थाको सहयोगपछि विद्यालयको भौतिक तथा सामाजिक पाटोमा धेरै प्रगति भएको बताइन् ।
विद्यालयमा बाल क्लब गठन, नेतृत्व विकास, भुकम्पबाट बच्ने सीप सिकाई, सुरक्षित स्थानको छनौट जस्ता काम गरिएको तिवारीले बताइन् । यसैगरी विद्यालयमा बिद्युत जडान, खानेपानी, ह्वाइट बोर्डको व्यवस्था, सिलिङ फ्यानको व्यवस्थामा संस्थाले सहयोग गरेपछि विद्यालयको आकर्षण नै बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर मोक्तानले बताए ।

विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी १ सय १३ जना विद्यार्थी रहेका छन् । पाँचजना महिला शिक्षक मात्रै रहेको यो विद्यालयमा तामाङ समुदायको मात्रै बालबालिकाहरु अध्ययनरत छन् ।
यसैगरी अनुगमन कार्यक्रममा बालज्योती माविका प्रध्यानाध्यपक भरतप्रसाद अर्यालले पनि संस्थाको सहयोगपछि विद्यालयको समाजिक तथा भौतिक क्षेत्रमा धेरै सुधार आएको बताए । बालज्योति माविमा छात्रामैत्री शौचालय निर्माण, शुद्ध पानीको व्यवस्थापन, प्राथमिक उपचारको लागि आवश्यक सामग्री, अतिरिक्त क्रियाकलापमा सहयोग गरिएको थियो ।
१८ जना दृष्टि विहिन छात्रछात्राहरु समेत अध्ययनरत यो विद्यालयमा दृष्टि विहिनहरुको अध्ययनमा सहयोग आवश्यक भएको राडो नेपालका सामाजिक सहजकर्ता राजु लम्सालले बताए । अनुगमन कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख पुडासैनी, नगर शिक्षा विकास महाशाखा प्रमुख रिमाल,जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि दाहाललगायतले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट प्रदान गरीने सहयोग र गैरसरकारी संस्थाहरुले गर्ने सहयोगमा आपसी समन्वय भएका दोहोरापना नहुने र उपलब्धी प्रभावकारी हुने बताए ।
आगामी दिनमा विद्यालय र विद्यार्थीहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुसँग अनिवार्य रुपमा समन्वय गर्न पनि अनुगमनमा सहभागीहरुले सुझाव दिएका थिए । ३ वर्षको लागि सञ्चालित समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रम जनवरीको अन्त्यमा सकिदै छ । स्रोत केन्द्रले ताेकेको विद्यालयमा विद्यालयको आवश्यकता अनुसार काम गरिएको कार्यक्रमका सामाजिक सहजकर्ता लम्सालले बताए ।