मकवानपुर/चिसोबढी बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा समस्या आउन सक्ने संभावना बढेको छ । यसैबीच चिसोमा कपडा अभावले जाडोको समस्या भोग्दै आएका लोपोन्मुख जाति वनकरियाका बालबालिका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ ।
आदिवासी जनजाति विकासका लागि संजाल काठमाडौंले सदस्यहरुबाट संकलित रकमबाट तयारी कपडा वितरण गरिएको हो । आदिवासी जनजाति विकासका लागि संजालकी अध्यक्ष सावित्रा चेपाङ, उपाध्यक्ष सुदीप ठकुरी, कोषाध्यक्ष निर्मला भुजेल, सदस्य सुमिन गुरुङलगायतले वनकरिया बालबालिकालाई कपडा वितरण गरेका थिए । १ देखी २० वर्षसम्मका ११ छात्रासहित ३३ विद्यार्थी वनकरिया, एक जना शारिरीक अपाङ्गता भएका र ३ जना एकल महिलालाई जाडोमा लगाउँने कपडा वितरण गरिएको थियो ।
कपडा वितरणले बनकरिया बालबालिकालाई विद्यालयमा पढ्न र ट्युसन पढ्न सहज हुने अपेक्षा गरिएको छ । २०६५ सालमा स्थापित संस्थाले आदिवासी जनजातिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसअघि, २० घर रहेको वनकारियावस्तीमा ३ लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्ती पाएको वनकरियाहरुले बताएका छन् ।


आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह (आईडब्लुजीआईए) को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको थियो ।