मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा-५ का अध्यक्ष राजेश बानियाँले वडाको बाटो निर्माणलाई प्राथमिकता दिदै आएको तर आगामी दिनमा सामाजिक पाटोमा ध्यान दिने बताएका छन् ।
मनकामना पार्क टोल विकास संस्था हेटौंडा ५ को १९ औ साधारण सभाको उद्घाटन गर्दै वडा अध्यक्ष बानियाँले शनिबार यस्तो बताएका हुन् ।
बस्तिलाई व्यवस्थित गर्दै, सामाजिक विकास, आर्थिक विकास, शैक्षिक विकास, सीप विकासलगायत सबैतिर ध्यान दिनुपर्ने तर कम बजेटको कारण समस्या भएको उनले बताए । विकासमा व्यक्ती वा राजनीतिक आस्था हावी हुन नहुने उनले बताए ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारिले टोलको विकासको लागि टोलको विकास र नेतृत्वको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । टोल विकास संस्थाले आफ्नो टोलको आवश्यकता बारे वडा समिति, स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्नु जरुरी रहेको अधिकारीले बताए । टोल विकास संस्थाले बचत र ऋणमा मात्रै सिमित नभएर सामाजिक विकृती उन्मुलनका लागि पनि लाग्नु पर्ने उनले बताए ।
संस्थाको अध्यक्ष जानुका संजेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो। साधारणसभामा टोल विकास संस्था अध्यक्ष संजेलले स्थानीय क्षेत्रको विकासमा समन्वय गर्ने, किरियापुत्री भवनको निर्माणमा पुर्णता दिने लगायतका कार्य बाँकी रहेकोले आगामी दिनमा पूरा गर्ने बताइन् ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष विश्वप्रसाद गौतमले संस्थाको ३४ लाख ९८ हजार बराबरको आय व्याय विवरण प्रस्तुत गरेका थिए । टोल विकास संस्थामा हाल २ सय ३४ जना सदस्यहरु रहेको संस्थाका सचिब भिमा गुरागाईंले बताइन् ।
साधारण सभामा मनकामना खानेपानी उपभोक्ता समिति अध्यक्ष रामचन्द्र देवकोटा, प्रतिफल बचत तथा ऋण सहकारी संस्था उपाध्यक्ष निलम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच मनकामना खानेपानी उपभोक्ता समितिले पनि आर्थिक वर्ष २०७६/०७७ को आयव्यय विवरण सार्वजनिक गरेको छ । समिति अध्यक्ष रामचन्द्र देवकोटाको अध्यक्षतामा कोषाध्यक्ष राजेन्द्रनाथ शर्माले १५ लाख ३७ हजार आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।