मकवानपुर/ बागमती प्रदेश प्रदेश सभाको बैठक आगामी माघ ७ गते बस्ने भएको छ । आज शुक्रबार बसेको बागमती मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणको भयले लामो समयदेखि बस्न नसकेको प्रदशे सभा बैठक आगामी माघ ७ गते भने प्रदेश सरकारले बाध्य भएर बस्दैछ । प्रदेश सभाको नियमावली अनुसार चलेको देखाउन मात्रै प्रदेशसभाको बैठक आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको देखिन्छ । प्रदेश सभा नियमावली अनुसार संसद अधिवेशन सकिएको ६ महिना भित्रमा अर्को अधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ ।
बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बसेको छैन । गत साउन ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भएको घोषणा गरेको थियो । माघ ८ गते घोषणाको ६ महिना पुग्दैछ । ६ महिना पुग्न एक दिन मात्रै अगाडी संसद बैठक आह्वान गरिनुले पनि प्रदशे सरकारकारले प्रदेश सभाको नियमावलीको मात्रै सम्बोधन गर्न लागेको प्रष्ट देखिन्छ ।
सदनको अधिवेशन अन्त्य भएर अर्को अधिवेशन बोलाउनका लागि मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने प्रावधान रहेको छ । बागमती प्रदेश सरकार गठनदेखि नै विवादमा रहेको नेकपा संसदीय दलभित्रको विवाद केन्द्रमा भएको विवादले झन बढेपछि प्रदेश सरकारले संसद छल्दै आईरहेको थियो ।
यता बागमती प्रदेश सभाको बैठक चल्ने मिति तोकिएता पनि संसदमा विधेयक माथि भने खासै छलफल नहुने देखिएको छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार सचिवालयमा ‘विजनेस’को रुपमा हालसम्म जम्मा दुईवटा मात्रै विधेयक रहेको छ । भौतिक मन्त्रालयको सिफारिमा आएको सडक विधेयक र नेकपाका प्रचण्ड–नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धमा गरेको अविश्वास प्रस्ताव दुइ वटामात्रै विषय छलफलका लागि तयार छन् ।