मकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३२ परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कठ्यांग्रिदो जाडोमा जीवन यापन गर्दै आइरहेका मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ३ घट्टेखोलाका ३२ परिवारलाई गैरसरकारी संस्थाको समन्वयमा ब्ल्यान्केट बितरण गरिएको हो ।
बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) को सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा चेपाङ र तामाङ परिवारलाई लक्षित गरी आज शुक्रबार ब्ल्यान्केट वितरण गरिएको हो । जाडोका समयमा ब्ल्यान्केट प्राप्त भएपछि स्थानीयवासिन्दाले खुसी व्यक्त गरे । स्थानीय सरकारले मात्रै सबैतिर ध्यान दिन नसकेको बेला गैरसरकारी संस्थाको तर्फबाट ब्ल्यान्केट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
ब्ल्यान्केट वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यक्ष, क्षयरोग फोकल पर्सन ठाकुर पौडेल, बीएनएमटीका अनुगमन÷मूल्यांकन संयोजक भोला राई, सामुदायिक स्वास्थ्य परिचालक, रेविका दाहाल, स्थानीय टोल विकास संस्थाका कृष्ण योन्जन लगायतको सहभागिता रहेको थियो ।
क्षेत्रीय कार्यालय हेटौँडामा रहेको बीएनएमटीले चितवन, महोत्तरी, मकवानपुर र प्युठान जिल्लामा क्षयरोग नियन्त्रणको क्षेत्रमा स्वास्थ्य कार्यालयसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिरहेको अनुगमन तथा मूल्यांकन संयोजक राईले जानकारी दिए । मनहरीलाइभकाे सहयाेगमा