मकवानपुरका / मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि मानव अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक हेटौंडामा गरिएको छ ।
इन्सेक बागमती प्रदेशको आयोजनामा विहिबार हेटौंडामा आयोजना गरिएको साझेदारी बैठकमा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले पत्रकार जगत र आमनागरिक समाजको हक अधिकारको सवालमा अधिकारकर्मी र सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए ।
बैठकमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सन्जाल संयोजक आरती पाठकले सचेतनाको सवालको पाटो सशक्त बनाउन पर्ने बताइन् । यसैगरी सञ्चारकर्मीहरुले राजनीति इस्युलाई मात्रै ध्यान दिएर अधिकारको सवाल बिर्सनु नहुने इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए । अधिकारकर्मीलाई समस्या हुदा र सञ्चारकर्मीलाई समस्या हुँदा आपसमा सहकार्य जरुरी रहेको उनलेे बताए । कोरोनाको कारण शिक्षा, स्वास्थ, खाद्य अधिकारको पक्षमा गर्नुपर्ने काम धेरै बाँकी रहेको उनले बताए ।

कार्यक्रममा शिक्षाको लागि साझा अभियानका प्रकाश खतिवडाले शिक्षाको अधिकारको सवाल उठाउनु पर्ने बताए । यसैगरी सञ्चारकर्मी बालकृष्ण अधिकारीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मानव अधिकार अतिक्रमीत भएको बताए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले नागरिकमा सूचनाको पहुँच अझै कमजोर भएको बताए । प्रबिधिको कारण मानवीय गोपनियताको सवाल कमजोर बन्दै आएको उनले बताए ।
यसैगरी कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले उपभोक्ताको अधिकार सशक्त हुन नसकेको बताए ।