मकवानपुर/लामो समयको अन्तरालपछि स्थानीय सरकारको उपस्थितीले ग्रामिण क्षेत्रमा भौतिक विकासले फड्को मारेको छ । बाटो, पुल पुलेसा तथा भवन निर्माणमा ग्रामीण बस्तिहरुको विकास देखिन थालेको छ । तर सामाजिक क्षेत्रमा भने अझै आशातित विकास भएको छैन ।
स्थानीय सरकारसँगको समन्वयमा विभिन्न गैससहरुले ग्रामिण बस्तिमा सामाजिक विकासको पाटोलाई उठाउने जमर्को गरेका छन् । नारी सिप सिर्जना केन्द्रले ग्रामिण बस्तिसम्म विपन्न वर्गको आर्थिकस्तरसँगै सामाजिक स्तर उठाउनको जमर्कोको साथ लागु गरेको मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाको एक वर्ष सकिएको छ ।
परियोजनाको एक वर्षे म्याद सकिनै लाग्दा केन्द्रले कार्यप्रगतिको समिक्षा गरेको छ ।
कार्य प्रगतिको समिक्षात्मक अनुगमगन कार्यक्रममा मकवानपुरको विकट बस्ति बागमती गाउँपालिका वडा १ मा ७४ वर्षीय भिमनाथ बोलखेले आफूले परियोजना अन्तरगतको कार्यक्रमबाट जीवनपयोगी ज्ञान हासिल गरेको बताए ।
परियोजना अन्तरगत स्थानीय तहको सरोकारवालाहरुसँग समन्वय तथा छलफल कार्यक्रम बागमती गाउँपालिकामा गरिएको छ । छलफल तथा समन्वय कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले सामाजिक विकासमा पालिकाले सोचेजति काम गर्न नसकेको स्वीकार गरे । कार्यक्रममा राष्ट्रिय समावेशी आयोग कार्यवाहक अध्यक्ष विष्णु ओझाले समाबेशिता कार्यन्वयनको सिलसिलामा स्थानीय सरकारले गरेको कामको बारेमा जिज्ञासा राखेकी थिइन् । ‘समावेशीको सवालमा स्थानीय सरकारको कामबारे अध्ययन जरुरी रहेको कार्यवाहक अध्यक्ष ओझाले बताइन् ।
स्थानीय सरकारले स्थानीय क्षेत्रको सामाजिक पाटोको विकास अत्यावश्यक रहेको उनले बताइन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु, महिला बालबालिका, सिमान्तकृत समुदायको उठानको लागि स्थानीय निकाय र गैससको समन्वय जरुरी रहेको उनले बताइन् । नारी सिप सिर्जना केन्द्रले मकवानपुरको बागमती गाउँपालिकाको वडा १ देखि ५ सम्म सुरक्षित बसाइँसराइको लागि सामाजिक छलफल केन्द्र स्थापना गरेर छलफललाई निरन्तरता दिंदै आएको छ । परियोजना अन्तरगत जिविकोपार्जन उकास्नको लागि २०/२० वटाको दरले २० परिवारलाई कुखुराको लागि बीउ पुँजि वितरण गरिएको केन्द्रकी अध्यक्ष सरस्वति बर्तौलाले बताइन् ।
यसैगरी सबै वडामा १/१ वटाको दरले तरकारी खेतिको लागि टनेल निर्माणमा सहयोग गरेको, वैदेशिक रोजगारबाट फर्केका ५० जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको, ५ जनालाई उच्चस्तरीय मनोसामाजिक परामर्शको लागि रिफर गरिएको, मानव बेचबिखन विभिन्न स्थानमा होर्ड· बोर्डहरु राखिएको केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिवि पौडेलले बताए ।
केन्द्रले बोयल प्रजातिको बाख्रा पनि वितरण गरेको केन्द्रका कार्यकारी निर्देशक पौडेलले बताए । तरकारी खेती गर्नेलाई मौसमी र बेमौसमी तरकारीको बीउ वितरण गर्ने कार्यक्रम पनि रहेको पौडेलले बताए । तरकारी खेतिको लागि तालिम लिएकाहरुलाई तरकारीको भण्डारण तालिम पनि दिने तयारी गरिएको उनले बताए ।
केन्द्र स्थापना भएपछि मानव बेचबिखन, असुरक्षित बसाइँसराई जस्ता विषयमा आफूहरुले जानकारी हासिल गरेको बागमती गाउँपालिका–१ की शुभद्र राईले बताइन् । ‘काममा ठगी गर्नेहरुको शिकार त पटक पटक भइएकै हो, लहैलहैमा बसाइँसराइले पनि दुख नै पाइने रहेछ’ उनले भनिन् ।
‘महिला मात्रै बिक्री हुने हैन रहेछ, पुरुष पनि बेचिदा रहेछन्, बसाई जहाँपनी सहज बनाउन चाहेमा आफैंले सहज बनाउन सकिने रहेछ, बसाइ ठाउँ नै सुख र दुखको भन्ने हैन रहेछ’ ७६ वर्षीय भिमनाथ बोलखेले भने । ‘मेरै बुहारी धेरै हण्डर पाई, ६ महिनापछि घरमा ल्याईयो, सुरक्षाको कुरा सबैलाई बुझाउनु पर्छ, महिला पुरुषलाई अलग अलग हैनसँगै राखेर कुरो बुझाउनु पर्छ’बोलखेले भने ।
काभ्रे जिल्लामा जन्मेका उनले २९ वर्षको उमेरमा २० ठाउँमा बसाइसरेको र अब कहि नजाने, बरु हाल बसेकै स्थानमा आफ्नो तरिकाले सुखि बनाउने सोच बनाएको उनले बताए । ‘वि.स २०३२ साल यहाँ (बागमती गाउँपालिका–१) आएको हुँ अब कहि जान्न, आफूले कुरो बझे यहाँ सबैथोक छ’उनले भने । परियोजना सञ्चालित वडाहरुमा स्थानीय वन समिति, युवा समूह, आमा समूहहरुमा बेचबिखनबाट बच्नको लागि सचेतनामुलक छलफल कार्यक्रम गरेको छ । समन्वय तथा छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान गैससहरुले स्थानीय क्षेत्रको सामाजिक विकासमा सहकार्य गरेको प्रति खुसी व्यक्त गरिन् ।
यसैगरी गाउँपालिकाले गर्नुपर्ने काममा सामाजिक संस्थाले अग्रसरता देखाउनु सकारात्मक भएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले बताए । गाउँपालिकामा हार्डवेयर भन्दा सफ्टवेयरका कार्यक्रम आवश्यक रहेको र अनुदानको कार्यक्रममा अझै प्रभावकारीता नरहेको उनले बताए । समाजलाई सामाजिक पाटोमा अगाडि बढाउन बागमती गाउँपालिका सधै तयार रहेको उनले बताए ।
फिल्ड अनुगमनपछि नारी सीप सिर्जना केन्द्र अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा गाउँपालिकामा भएको समन्वय तथा छलफल कार्यक्रममा गाउँपालिकाको वडा अध्यक्षहरु, पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष बर्तौलाले स्थानीय सरकारको समन्वयमा संस्थाले काम गरेको बताइन् ।
गैससको कामलाई स्थानीय सरकारको साथ र सहयोगले जनताको सामाजिक विकासको क्षेत्रमा धेरै काम गर्न सकिने उनले बताइन् । गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडामा नारी सिप सिर्जना केन्द्रले अरो इन्टरनेशनको साझेदारीमा सामुदायिक छलफल केन्द्र गठन गरेर छलफल गराउन थालेपछि चेतनासँगै गाउँका समस्याहरु बारेमा छलफल हुन थालेको बागमती १ का स्थानीय कमल राईले बताए । केन्द्रले गठन गरेको छलफल केन्द्रमध्ये एक हो बागमती एकको साहारा सामुदायिक छलफल केन्द्र । छलफलमा मानव वेचविखन रोकथाम र सुरक्षित स्थानागमनको विषयमा चर्चा हुने गरेको छ । पछिल्लो समय मानव वेचिविखनको तरिका फरक भएकोले बेरोजगार रुपमा रहेको ग्रामिण युवायुवतीहरु त्यसको सिकार हुने गरेको भन्दै बैठकमा छलफल हुने स्थानीय सहजकर्ता केवल विश्वकर्मा बताउँछन् ।

छलफलमा गरिब, सिमान्तकृत, कमजोर अवस्थाको महिला पुरुषहरुलाई श्रमिकको रुपमा, वैदेशिक रोजगारी, गैरकानुनी धन्धाको रुपमा विभिन्न रुपमा परिचालित गरेर मानव वेचविखन हुनसक्ने भन्दै छलफल केन्द्र गठन गरेर चलाइएने गरेको उनले बताए । साहारा छलफल केन्द्रको छलफलले केन्द्रकी सदस्य रेबिका राईको लागि तरकारी खेति गर्न टनेल दिनुपर्ने निर्णय गरेपछि उनलाई केन्द्रले टनेल दिएको छ । १२ मिटर लम्बाई ६ मिटर चौडाई भएको टनेल सानो भएता पनि उनको खुसी ठुलो छ । उनले अब आफ्नो टनेलको लागि चाहिने विउ पनि नारि सिप सिर्जना केन्द्रबाट नै पाउनेछिन् ।