मकवानपुर/मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले सवारी दुर्घटनामा घाइते भएकाहरुको लागि उपचारको लागि ५० हजार सहयोग गर्ने भएको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकै भएको बोलेरो जीप दूर्घटनाको घाइतेको उपचार गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शनिबार चुरेहिल अस्पतालमा पुगेर उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिँदै गाउँपालिकाले उपचारमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । नेवारपानीबाट राक्सिराङ गाउँपालिका–१ स्थित ठूलोभावरतर्फ गइरहेको ग १ ज ७२८९ जीप ब्रेक फेल भएर दूर्घटना हुँदा राक्सिराङ गाउँपालिका–१ का २२ जना घाइते भएका थिए ।
घाइतेमध्ये केही उपचार गराएर घर फर्किसकेका छन् भने १६ जनाको चुरेहिल अस्पताल र एकजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको आइसियुमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर तथा प्रशासनका कर्मचारीसँग भेट गर्दै अध्यक्ष मल्लले घाइतेहरुको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।
उपचार खर्चमध्ये गाउँपालिकाले अस्पताललाई ५० हजार रुपैयाँ भुक्तानी दिने अध्यक्ष मल्लले बताए । ‘राक्सिराङमा एकैचोटी यति धेरै संख्यामा घाइते हुनेगरी भएको दूर्घटनाप्रति निकै दुःख लागेको छ, गाउँबासीको अप्ठेरोमा गाउँपालिका साथै रहेको छ, उपचार खर्चमध्ये ५० हजार रुपैयाँ हामी बेहोर्छौं’ अध्यक्ष मल्लले भने ।
मल्लसँगै राक्सिराङ गाउँपालिका–१ का वडाध्यक्ष कान्छाराम रुम्बा, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजालगायत घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनीहरुले घाइते र आफन्तलाई सान्त्वना दिँदै उपचारमा आफूहरुको पनि साथ रहने प्रतिवद्धता जनाएका थिए ।