मकवानपुर / मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा न. १ कि सकुन्तला थापा उमेरले ५१ वर्ष पार गरिन् । तर, उनको सक्रिय दैनिकीले उनको उमेरलाई पत्याउँदैन । पछिल्लो दुई दशक उनको चासोको विषय बनेको छ, घर नजिकैको सामुदायिक वनकाे संरक्षण सवाल । सामुदायिक वन संरक्षणमा आफू लागि पर्ने र अन्यलाई पनि प्रेरित गर्ने काममा तल्लिन छिन् सकुन्तला ।
हेटौंडाको सुन्दर सामुदायि वन उपभोक्ता समितिको उपाध्यक्ष रहेकी सकुन्तला लगातार ५ कार्यकाल समितिमा नै छिन् । महिलाको जसैजसो सवाल वनसँगै जोगिएको हुनाले वन संरक्षणमा महिलालाई अगाडि बढाउनु पर्ने बताउँछिन् उनी । घाँस,दाउरा तथा सोतरको लागि वन प्रवेश गर्नेहरु पुरुषभन्दा बढी महिला हुन्छन्, विरुवालाई जोगाउनको लागि महिलालाई जागरुक बनाइयो भने, विरुवा हुर्कन्छ, वन बाक्लिन्छ । वन बाक्लिनु भनेको पानीको मुहानहरु सुरक्षित हुनु हो । जनघनत्व बढ्दो छ, बढ्दो शहरीकरणले पानीको अभाव पनि बढीरहेको छ । वन तथा पानीको मुहानलाई बचाउँन समयमा नै ध्यान नदिए आगामी पुस्ताले ठूलो मुल्य चुकाउनु पर्छ भन्नेमा सचेत छिन् उनी ।
‘घाँस, पात,काठ दाउराको मात्रै समस्या हैन, वन मासिदा हाम्रो जीवन नै कसरी रहला ?’ उनी भन्छिन् ‘वन त हाम्रो जीवन हो, वन संरक्षण सबैको दायित्व हो, कर्तव्य हो ।’ यसै सामुदायिक वनको सचिव पदमा रहेर नेतृत्व गरिरहेकी छिन् तनुजाकुमारी ढकाल । सामुदायिक वनको काम भनेपछि रातभर नसुतेरै खटेको अनुभव छ उनीसँग पनि । वनमा डढेलो लागेपछि साँझ आगो निभाउन वन पसेका उनीहरु निद्रा मारेर विहानीसम्म आगोसँगै पौठेजोरी खेल्दै आगो निभाएर डढेलोलाई जितेरै फर्कन्छन् ।
‘पटक पटक यस्ता घटना भएका छन्, आफ्नो आङमा लगाएको लुगा कति डढे, ज्यानमा कति चोट लागे, आगो निभाउन तिर लागेपछि केही सोच आउन्न, आगो निभाउनै पर्छ भन्ने मात्रै लाग्छ’ उनि भन्छिन् । ‘आगो निभाउँदा निभाउँदा पानीले प्याक्क प्याक्क भइन्छ, पानी दिने मान्छे पनि पाइदैन, तर वनमा आगो देखिसी मनले मान्दैन, दौडिहाल्छौ ।’
कहिले २५ हेक्टर वनमा फैलिएकाे डढेलाे नियन्त्रण गरेका त,कहिले ३९ हेक्टर जमिनमा फैलिएको जंगलमा आगो लाग्दा लगातार खटेर आगो निभाएरै फर्केको स्मरण छ उनीहरुलाई । वनमा लाग्ने डढेलो नियन्त्रणको लागि सकुन्तला र तनुजाले २०६६ सालमा नेपालमै पहिलो पटक ‘फायर फाइटर’को तालिन लिएका थिए । जर्मन सरकारको सहयोगमा उनीहरुसँगै अग्नी नियन्त्रणको लागि तालिम लिएका २० जना अहिले यो वस्तिमा छैनन् ।
२५ जनाले तालिम लिएकोमा हाल ५ जना मात्रै बाँकी छन् । युवा पुरुषहरुलाई तालिम दिइयो, उहाँहरु नोकरीको खोजिमा जिल्ला बाहिर पुग्नु भयो, तर घर गृहस्थि हेरेर बस्ने भनेकाहरुले नै अहिले सुन्दर सामुदायिक वनलाई साँच्चैको सुन्दर बनाएका छन् ।
सुन्दर सामुदायिव वन मात्रै हैन, वरपरका एकतारे सामुदायिक वन, मनकामना सामुदायिक वनलगायतका सामुदायिव वनमा डढेलो लाग्दा पनि उनीहरुले आगो नियन्त्रणमा पुग्ने गरेका छन् ।
महिलाले जसरी घरलाई सुन्दर ढंगले व्यवस्थापन गरेका छन्, वनलाई पनि सुन्दर नै बनाएका छन् । ढकालका अनुसार यस सामुदायिक वनमा झण्डै ३ सय जना जना उपभोक्ताहरु रहेका छन् । सबै उपभोक्ताहरु वनको संरक्षणको लागि एकजुट भएकै कारण यो वन मकवानपुर जिल्लामा उत्कृष्ट समेत घोषणा भएको छ । ‘महिलाको जिम्मेवारी घर मात्रै हैन, हाम्रो वरपरको वातावरणीय जीवन पनि हाम्रै जीवन हो, उनी भन्छिन् ‘वातावारण हराभरा राख्न सके पो हामी स्वस्थ रहन सक्छौ ।’
धेरै जसो पुरुषहरु काममाजि हुने भएकोले पनि वन, वन्यजन्तु तथा पानीका मुहान सुरक्षा तथा संरक्षणमा महिलाको दाँजोमा कम समय दिने गरेका छन् । वनमा आएका समस्याबारे समितिमा जानकारी गराउने, समाधान गराउनेमा महिलाहरु नै अगाडि भएको उपभोक्ताको बुझाई छ ।
कोरोना संक्रमणले देशव्यापि लकडाउन हुँदा सुन्दर सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरु घर घरमा थुनिएर बसेनन् । उनीहरुले यही समयलाई वनको सरसफाइमा खर्च गर्ने अवसरको रुपमा लिए । वनमा उम्रेका अनावश्यक झाडिहरु फँडानी गरे, वनको बिचमा बनाइएको पानी पोखरीहरु सरसफाइ गरे । वन्यजन्तुको सुरक्षाको लागि समय खर्चिए । चैत बैशाख, जेठको सुख्खा मौसममा पानीको अभाव भएपछि बस्ति पसेर हैरान गर्ने वन्यजन्तुको लागि जंगलमै पानी पोखरीहरु निर्माण गरिएको छ ।
जंगलमै फलफूल जंगलमै पानी पाेखरी
‘बन्यजन्तु हाम्रो बस्तिमा आए भनेर रिस गर्ने हैन, उनीहरु पनि जीवन खोज्दै हामी कहाँ आएका हुन्, पानीको तिर्खाले भौतारिदै वा खानेकुराको अभावले छट्पटिदै वस्तिमा आएका हुनछन् वन्यजन्तुहरु’ थापा भन्छिन् ‘वन्यजन्तुलाई समस्या नहोस् भनेर हामीले जंगलमै ४ स्थानमा पानी पोखरी बनाइदिनएका छौ, अबको केही वर्षमा उनीहरुलाई फलफूल पनि जंगलमै फल्ने छ ।’

वन्यजन्तुको लागि आवश्यक पानी तथा फलफूल जंगलमै भएपछि जनावरहरु बस्ति पस्दैनन् । जनावरहरु मानवीय वस्तिमा नपसेपछि मानव र बन्यजन्तु बिचको द्वन्द्वको सुरुवात नै हुँदैन । सुन्दर सामुदायिक वनले यो द्वन्द्वको उठान नै नहोस् भनेर वनमा विभिन्न प्रजातिको ५ हजार थान फलफूलको विरुवा रोपेको छ । केरा, आँप, कटहर, लिचि, अम्ब, अनार जस्ता फलफूलहरु यसवर्ष रोपिएको उपाध्यक्ष थापाले बताइन् ।
जनावरलाई पानी पिउनको लागि बनाइएको पोखरीको वरपर र अन्यत्र समेत फलफूल लगाएका छौ, अब बाटो बिराएर सडकमा आउने भन्दा बाहेक खाना र पानी खोजिमा भौतारिदै बस्ति पस्ने समस्या विस्तारै हल हुने अपेक्षा गरेका छ’ सचिव ढकालले भनिन् ‘केही वर्ष यता जनावर हाम्रो तरकारबारी, फलफूल बगैचामा पस्ने गरेपछि हामीले यो विकल्प सुरु गरेका हौं ।’

भिरालो र चट्टानी वन भएको कारण पानीको मुहान संरक्षणमा धेरै समस्या भएको सुन्दर सामुदायिक वन उपभोक्ता समिति, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन उपसमिति संयोजक किशोरचन्द्र ढकालले बताए । पानीको मुहान कै संरक्षणको लागि धेरै समस्या भएको उनले बताए । मुहान नसुकोस् भनेर विरुवाहरु लगाउने वर्षको बेलामा आउने भेलबाढीले पुरिएमा सरसफाइ गर्ने जस्ता काम नियमित गर्ने गरेको संयाेजक ढकालले बताए ।
‘पानीको मुहानको संरक्षण गर्न सबैभन्दा ठुलो चुनौति नै डढेलो हो’ सचिव ढकालले भनिन् ‘मुहान भएको ठाउँमा डढेलो लागेपछि त खत्तम नै हुन्छ, हामीले पानीको मुहानलाई डढेलोबाट कुनै पनि हालतमा बचाँउनु पर्छ ।’ मुहान सुरक्षाको लागि सुख्खा समयको सुरु हुँदासाथ वरवर अग्नि रेखाहरु बनाउने, सुख्खा पातपत्करहरु रहन नदिने, डलेका सुकेका काठ दाउराहरु रहन नदिने गरेको उनले बताइन् । ‘पानीको मुहान नै सुख्यो भने हामी कसरी बाँच्ने भन्ने धारण सबैमा भयो भने, जो जसले भ्याउँछ, मुहानको अवस्थाबारे चासो दिइन्छ’ उनी भन्छिन् ‘सबैभन्दा ठुलो कुरा चेतना, जागरुकता नै हो ।’ पिउने पानीको मुहान संरक्षण गर्ने कार्यलाई उच्च प्राथमिकता दिंदै आएको संयाेजक ढकालले बताए ।
केही वर्ष अगाडि पानीको हाहाकार हुने गरेको यही क्षेत्रमा अहिले सार्वजनिक स्थलमा धारामा निरन्तर पानी आउने गरेको छ । यही वनले मुहान संरक्षण गरेपछि हेटौंडा अस्पताल, हेटौंडाको भिमफेदी बसपार्क, चौकीटोलको तिरतिरे धारा, वृद्ध आश्रम, सिद्धार्थ माध्यमिक विद्यालय जस्ता सार्वजनिक स्थलहरुमा तथा मनकामना सामुदायिक वन क्षेत्रका स्थानीयहरु समेतलाई अहिले नियमित पानी वितरण गरिदै आएको छ ।

मुहान मै ट्याङ्की बनाउने संभावना नभएपछि केही वरपर चेम्बर बनाएर पाइपमार्फत पानी जम्मा गर्ने र मुहानको निरन्तर रखेदेख गर्ने गरिएको उनले बताए । ट्याङ्की बनाउने, पाइप पुर्ने काम गर्नै समस्या छ एकातिर भिरालो जग्गा, गेगर नै गेगर छ खन्न र पुर्न सकिने अवस्था छैन भने अर्को तिर सबैभन्दा ठुलो कुरो बजेट कै समस्या छ । स्थानीय सरकार आए पनि सामुदायिक वन बचाउँनको लागि कुनै पहल नभएको समितिको गुनासो छ ।
सुख्खा मौसममा जनावारको लागि बनाइएको पोखरीमा पानी छिटो छिटो सुक्ने गरेको छ, यि पोखरीहरुमा पानीको मात्र अनुगमन गर्ने कार्य समितिले नियमित गर्ने गरेको किशोरचन्द्र ढकालले बताए ।
सामुदायिक वन क्षेत्रभित्र विभिन्न ४ स्थानमा जनावरको लागि पानी पिउने पोखरी निमार्ण गरिए पनि याे प्रयाप्त नभएकाे सामुदायिक वनका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बुद्धिप्रसाद पोडेलले बताए । अवश्यकता अनुसार यसलाई थप्दै लैजाने योजना समेत रहेको पौडेलले बताए । यसै गरी सामुदायिक वनले २ स्थानमा मुहान संरक्षण अन्तरगतको कार्य गर्दै आएको छ ।

उपभोक्ताको रुपमा रहदा होस् वा पदीय जिम्मेवारीमा रहँदा यहाँका महिलाहरुले वन र वन्यजन्तु संरक्षणको काम आफ्नै जिम्मेवारी ठानेका छन् । यो सामुदायिक वनमा हाल मृग रतुवा मृग, मयुर, सालक, दुम्सी, बाँदरलगायतका वन्यजन्तुहरु प्रसस्तै रहेको र वन्यजन्तुले जंगल नजिकै रहेको बस्तिमा दुख दिन थालेपछि स्थानीयवासी र सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनलाई ध्यान दिन थालिएको छ ।
केही समस्या र केही गुनासा पनि
सामुदायिकव वन, वन्यजन्तु तथा पानीको मुहान संरक्षणार्थ लागेका अभियान्ताहरुसँग समस्या र गुनासाहरु पनि छन् । राजमार्गमा गुड्ने सवारीको कारण वन्यजन्त घाइते हुने क्रमले समितिलाई चिन्तित गराएको छ । सवारीमा ठोक्किएर चोट लागेका मृगहरुलाई समातेर वन कार्मचारीको रोहवरमा समितिका पदाधिकार तथा वन उपभोक्ताहरुले आफ्नो बाख्रा पाल्ने खोरमा राखेर उपचारपछि चोट निको गराइ वन कर्मचारीकै रोहवरमा छोड्ने गरेको वन्यजन्तु संरक्षण तथा व्यवस्थापन समिति संयोजक किशोरचन्द्र ढकालले बताए ।
सामुदायिक वनसँग बजेटको अभाव हुँदा घाइते जनावरहरुको उपचारको लागि काम गर्न नपाएको ढकालले बताए । वनबाट एक्कासि राजमार्गमा आइपुग्ने जनावरहरुको सुरक्षार्थ स्थानीय सरकारले खासै चासो नदिएको उनले बताए । यसै गरी छाडा कुकुरको कारण पनि वन्यजन्तुहरु शिकार हुने गरेका छन् । यसको रोकथामको लागि पनि कतैबाट चासो देखाइएको छैन ।

यता वनभरी ढलेका सुकेका काठ तथा दाउराहरू छन् । तर, मान्छे मर्दा घाटमा लैजाने दाउरा हुन्न । ढलेको रुख,दाउरा बटुल्न पाए एकातिर समितिको आम्दानी हुनेथ्यो, अर्को तिर आगलागीबाट जोगिन केही राहत हुने थ्यो ।

सरकारी नीतिको कारण यस्ता समस्यामा सहजिकरण नभएपछि भने समस्या भएको छ ।
यसैगरी वनमा वन्यजन्तुको संख्या बढ्दो छ, यस अनुरुप नै वनक्षेत्र भित्र पानी पोखरीहरु पनि थप निर्माण गर्नुपर्ने आवश्यकता बढेको छ । समितिले थप पानी पोखरी बनाउने योजना पनि बनाएको तर बजेटको अभावले काम अगाडि बढाउन नसकिएको वन्यजन्तु संरक्षण तथा व्यवस्थापन समिति संयोजक ढकालले बताए ।
वन बचाउनको लागि अहोरात्र खट्ने समितिका पदाधिकार तथा उपभोक्ताहरुलाई वन पैदावरको प्रयोगमा लागि भने झण्झटीलो काुननको कारण समस्या भएको उपभोक्ताहरुको गुनासो छ । ‘हामीले वन, वन्यजन्तु, पानीका मुहान संरक्षण गरेका छौ, यसमा हामीलाई गर्व छ तर, हामीले गरेको काममा हामीले सन्तोषको स्वास लिन पाएका छौनौ’ उनीहरु भन्छन् ।
मकवानपुर जिल्लाका ४ सय २५ वटा सामुदायिक वनहरु रहेका छन् । जसमा नियम अनुसार प्रमुख पदसमेतमा ५० प्रतिशत महिला छन् । सामुदायिक वनले महिलाहरुको क्षमता विकास नेतृत्व विकास तथा जीविकोपार्जनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले बताए । वन समितिहरुमा महिला र पुरुषको ५० ÷५० प्रतिशत नेतृत्व रहने कानुनी व्यवस्था अनुसार महिलाहरु नेतृत्व भएपछि वन तथा वनजन्य स्रोत सम्पदाको संरक्षणमा प्रगति भएको अध्यक्ष चौलागाईंले बताए ।