मकवानपुर / विनाशकारी भुकम्पको कारण क्षति पुगेका संरचनाहरु निर्माण तथा मर्मतको कार्य अझै पुरा हुन सकेको छैन । भुकम्पपछिको ५ वर्ष जिर्ण भौतिक संरचनामा रहदै आएका मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका गुम्बहरु भने अब निर्माणले गति पाउने भएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वायन इकाईको अनुदान २९ लाख, ३० प्रतिशत जनश्रमदान सहित कूल ४१ लाख लागतमा गुम्बा पुननिर्माण अनुमान गरिएको छ । गुम्बा निर्माण कार्य चैत्र मसान्त भित्र सम्पन्न गरिने सक्ने उपभोक्ता समितिका सचिव दिलबहादुर लामाले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वायन इकाई भूकम्पीय गुम्बा आयोजना अन्तर्गत मकवानपुरमा १३ वटा गुम्बा पुनर्निर्माण भैरहेको छ ।
मकवानपुरको मनहरी गाउपालिका ५ बसन्तपुरमा रहेको टासी छ्योइलिङ गुम्बाको पुनर्निर्माणको लागि आज शिलान्यास गरिएको छ । आज बिहिबार निर्माणधिन गुम्बा परिसरमा बागमती प्रदेशको प्रदेशसभा सदस्य ओम बहादुर ग्लान, मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रेती, र ५ नम्बर वडाको वडाध्यक्ष शुभराज थिङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले बौद्धधर्म सस्कृति हाम्रो पहिचानसँग जोडिएकोले संरक्षण गर्नु पर्नेमा जोड दिए । प्रदेश सरकार लगायत स्थानीय तहबाट विकास निर्माणको कार्यसँगै धर्म सस्कार संरक्षणको लागि सहयोग रहने बताउदै निर्धारित समयमा नै गुम्बाको कार्य सकाउन उपभोक्ता समितिलाई समेत आग्रह गरे ।
त्यस्तै, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले स्थानीय सरकार धर्म सस्कार जगेर्नाको निम्ति सहकार्यको तयार रहेकोले गुम्बा निर्माण जस्तो पबित्र काममा गाउपालिकाको तर्फबाट सक्दो सहयोग रहने बताए ।
शिलान्यास कार्यक्रममा नेकपा मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेती, सचिबालय सदस्य दिपेन्द्र अधिकारी, कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नम्बर वडा सदस्य सोमनाथ रुम्बा, महेन्द्र खड्का, नेकपा ५ नम्बर वडाका अध्यक्ष मिनबहादुर लामा, सुर्यकिरण युवा क्लबका अध्यक्ष बीरबहादुर मिजार, ऋषेश्वर महादेव मन्दिरको अध्यक्ष बिष्णु प्रसाद अधिकारीलगायतका सहभागी रहेका छन् । कार्यक्रम गुम्बा ब्यबस्थापन समितिको उपाध्यक्ष सुजन रुम्बाको सभाध्यक्षतामा भएको थियो ।