- सरला बोलखे उपाध्यक्ष, बकैया गाउँपालिका, मकवानपुर ।
लैङ्गिक हिंसा भनेकाे महिला हिंसा नभइ लिङ्गकाे आधारमा हुने हिंसा हाे । केही समय दिवसकाे रूपमा मनाइने अभियानले मात्रै लैङ्गिक हिंसा न्यूनिकरण संभव छैन । याे विषयलाइ सामान्य रूपमा लिनु हुन्न, यसै पेरीफेरीमा रहेर मकवानपुर जिल्ला बकैया गाउँपालिका उपाध्यक्ष सरला बाेलखेसँग गरिएकाे छाेटाे कुराकानी :
¤ बकैया गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको कामलाई कसरी अगाडि बढाइरहेको छ ?
हामीले हालै मात्रै लैङ्गिक हिंसा विरुद्वको अभियान सकेका छौ, तर यो अभियान चै अभियान कै रुपमा मात्रै नभई वर्षैभरी मनाइरहन्छौ । महिला हिंसा तथा लैङ्गिक हिंसा न्यूनीकरण बारेको काम त वर्षै जारी छ । महिला चौतर्फी विकासको लागि आय आर्जन बढाउने सीप विकास,महिला सशक्तीकरण गर्ने कार्यक्रमहरु गाउँपालिकाले सधै गरिरहेको छ। महिलालाई सामुहिक रुपमा उद्योमी बनाउने प्रकारको कार्यक्रम पनि लागू गरेका छन् ।
यसैगरी नेपाल सरकारले सुत्केरी महिलालाई प्रदान गर्ने न्यान्यो झोला कार्यक्रम उत्पादन सुरु गरेका छौ ।
¤ यो अभियानलाई लक्ष्यित गरेर चाहिँ के गर्नुभयो ?
यसपाली हामीले प्रचारप्रसारका कार्यक्रम कम ग-यौ, गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम तयारीमा छौ, हामीले यो १६ दिने अभियानलाई पनि बालमैत्री अभियानमा जोडेर कार्यक्रम ग-यौ । बालमैत्री घोषणाको अन्तिम चरणमा रहेकोले अनुगमन तथा वडास्तरको घोषणामा लागिपरेका छौ । बालमैत्री कार्यक्रम सफल हुदा सबै अभियानले सार्थकता पाउने भएकोले पनि हामीले त्यसतर्फ ध्यान केन्दीत गरेका हौ । वडास्तर वा पालिकास्तरको कार्यक्रम गर्दा हामीले महिला बालबालिका तथा पुरुष सबैको प्रतिनिधित्व गराएर त्यै बालमैत्री अभियानको बिषयमा काम जारी राखेका हौ ।
अभियानको सिलसिलामा हामीले कोभिड १९ को कारण महिला र बालबालिकाहरुमो परेको मानसिक असर र न्यूनिकरणको उपायबारे कार्यशाला ग-यौ । यस कार्यक्रममा पनि बालमैत्री अभियानको लक्ष्यित समूहलाई नै सहभागी गराएका थियौ । बाल अधिकार, बाल स्वस्थ्य, बाल शिक्षा,बाल सहभागिता, बाल न्यायलगायत चौतर्फी चासोको बिषयलाई ध्यान दिएर काम गर्न सके लैङ्गिक हिंसा न्यूनीकरणको सवालमा गर्नुपर्ने काम पूरा हुने देखिन्छ । बालबालिका र महिलाको सामाजिक मनोबैज्ञानिक असर कम गर्न प्रतिनिधिमुलक उपस्थिति जावस भनेर यो कार्यक्रम गरेका हौ ।
कोभिडको कारण अवस्था डामाडोल नै भयो भनेर आत्तिनु पर्दैन भन्ने खालको सन्देश यो कार्यक्रम दिएको छ । कोभिडपछिको मानसिक समस्यालाई व्यवस्थापन गर्दै जनजीवन सहज पार्न र कोभिडपछि उत्पन्न लैङ्गिक हिंसा न्यूनिकरण गर्न यो कार्यशालाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।
¤ विभिन्न अभियानको वाबजुत पनि हिंसात्मक घटना भइरहेको छन, हिंसा न्यूनिकरणको लागि पालिकाको योजना विचार के छ ?
सबैभन्दा पहिलो त महिलालाई आत्मनिर्भर बनाउनु पर्छ, आर्थिक रूपमा सशक्त बनाउनु पर्छ, यसको लागि सीप क्षमता बढाउनु छ । यसैगरी महिलाको मात्रै नेतृत्व क्षमता बढाएर पनि हुन्न सँगसँगै पुरुषको पनि सहभागिता बढाउनु जरुरी छ, गाउँपालिकाले यस्ता कार्यक्रम पनि अघि बढाएको छ । विभेद, हिंसा रोक्नको लागि सामाजिक नेतृत्व सामाजिक सहभागिता समान रुपमा गराउनु अनिवार्य छ ।
हामीले चेतनाको स्तर बढाउनमा महिला र पुरुषको समान सहभागिता गराउनेतर्फ ध्यान दिन थालेका छौँ । जसले गर्दा समाजको बढ्दो लैङ्गिक हिंसा न्यूनिकरण गर्न हामी सक्षम हुने छौ ।
¤ महिलाको नेतृत्व विकासको लागि पुरुषहरूको सहभागिता चै कस्तो पाउनु भएको छ ?
पहिले पहिले भन्दा राम्रो छ,तर अझै पनि महिलाको कार्यक्रम भनेर पुरुषहरूको सहजै सहभागिता चाहिँ देखिनुहुन्न । हामीले लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम ग¥यौ तर महिलाको कार्यक्रम भनेर वडाका अध्यक्ष ज्यूहरु समेत आईदिनु भएन । वडाका अध्यक्ष ज्यूहरु त लैङ्गिकताको सवालको कार्यक्रमलाई महिलाहरुको मात्रै भनेर बुझ्नुहुन्छ भने अरुलाई अझै बुझाउन समय लाग्छ नै । आखिर लैङ्गिक हिंसा भनेको महिलामात्रैको सवाल त हैन नि ।
¤ लैङ्गिक हिंसा विरुद्धकाे अभियानमा लाग्न केही सन्देश छ कि ?
अभियान, अभियान मात्रै हैन, यसले सही सन्देश बाहिर जाओस् भन्न चाहन्छु । अब महिला पुरुष भन्ने हैन कुनै पनि व्यक्तिलाई लिङ्गको आधार हिंसा हुनुहुदैन । हिंसाले महिला, पुरुष, बालबालिका तेस्रो लिङ्गी कसैलाई पनि फाईदा त गर्दैन नि त । हिंसाले त सिङ्गो समाजलाई अधोगतितर्फ लैजान्छ । हिंसा मुक्तिको लागि व्यक्ती र समाजका सबैको समान जिम्मेवारी छ । समान योगदान आवश्यक छ । हाम्रो समाजको विकासको लागि हाम्रो विकासको लागि हामी नै नलाग्ने हो भने कसरी हिंसा उन्मुलन गर्न सकिन्छ ? हिंसा उन्मुलन किन आवश्यक छ भनेर सबैले बुझ्न आवश्यक छ । सबैले हिंसा विरुद्ध ऐक्यबद्धता जनाई सहभागी जनाईदिनुहुन अनुरोध गर्दछु ।