मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा आज साेमबार आरोप-पत्र दायर गरेको छ ।
मालपोत कार्यालय चितवनका नायब सुब्बा मनोज निरौला, लेखापाल बलराम सापकोटा र लेखा अधिकृत रिठ्ठे दर्जीले गरी ७ करोड भन्दाबढी रकम राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ ।
लेखा अधिकृत दर्जीले राजस्व रकम रु। ७ करोड ८ लाख १७ हजार ,०३७।– सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको, सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको एवं दाखिला भौचरहरु बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको आरोप छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ग), दफा ९, दफा ११, बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजले दाखिला नगरी हिनामिना गरेकाे ७ कराेड ८ लाख १७ हजार ३७ रुपैंया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजले हिनामिना गरेको रकममध्ये आन्तरिक लेखापरीक्षका क्रममा रु। २ कराेड ५८ लाख ३ हजार २ सय ३१ रूपैया दाखिला गरेको देखिन अाएकाेले बाँकी रकम रु. ४ कराेड ५० लाख १३ हजार ८ सय ६ रूपैया असुल उपर गरी जफत हुन तथा सजाय हुन मागदाबी लिई साेमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ अायाेगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
यस्तै, मालपोत कार्यालय चितवनकै लेखापाल बलराम सापकोटाविरूद्ध ५८ लाख ४३ हजार ८०६ रुपैयाँ बिगो माग दाबिसहति अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले राजश्व रकम सरकारी बैंक खातामा जम्मा नगरी खाई मासी राजस्व हिनामिना गरेका हुनाले मुद्दा दायर गरिएको अख्तियार साेमबार विज्ञप्ती मार्फत जनाएको छ ।
यसैगरी, नायब सुब्बा मनोजकुमार निरौलाविरूद्ध चार लाख ७१ हजार ६१८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उनले राजश्व रकम लेखा शाखामा नबुझाई खाई मासी हिनामिना गरेको अख्तियारले जनाएको छ ।