मकवानपुर । सरकार विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले घोषणा गरेको विरोध कार्यक्रम अन्तर्गत साेमबार देशब्यापी प्रदर्शन गरी विराेध सभा गरेकाे छ । कांग्रेसले सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो । कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो ।
नेपाली कांग्रेसका शिर्षतहका नेताहरूले देशका फरक फरक शहरमा गरिएकाे विराेध सभालाइ सम्बाेधन गरेकाे छन् । बागमती प्रदेशको राजधानी हेटौंडाको कार्यक्रममा सहभागी भएका पार्टी सभापति शेरबहादुर देउवाले ओली सरकारको गैरजिम्मेवारीपनले गर्दा राजावादीहरू सक्रिय भएका बताएका छन् । सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको विरोध सभामा सम्बाेधन गर्दै सभापति देउवाले अहिलेके सरकारकै कारण राजा आऊ देश बचाऊ भन्ने नारा लाग्ने स्थिती आइपरेको बताए ।
सरकारको अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको कांग्रेसले बताएकाे छ । ‘वास्तवमा यो कोरोनाको महामारीको समयमा सडकमा भेला गराएर जनतालाई संक्रमित बनाउने हाम्रो इच्छा होइन । यो बाध्यात्मक अवस्था हो,’ देउवाले भने, ‘हामीले विज्ञप्ति जारी गरेर विरोध गर्दा केही गरेन भन्ने सडकमा निस्कँदा कांग्रेसले यस्तो गर्यो भन्ने काम हुँदैछ ।’

‘मैले उसबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हास्न पनि पाइँदैन दिल खोलेर रून पनि पाइँदैन,’ देउवाले भने, ‘आज हेर्नुस् त कम्युनिष्ट सरकारले एकदलीय शासन गरिरहेको छ, जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरू आत्तिएँ भन्दै बसेका छन् ।’ कोरोनाको महामारीमा पनि भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार भएको भन्दै ओली सरकार आएपछि भ्रष्टाचार, बलात्कार, हत्या र कुशासन चलिरहेको उनले बताए ।
राजा आऊ देश बचाऊ भन्नेलाई देउवाले राजा आऊ देश बचाउन भन्नेलाई आफैँ बाच्ने काम गर्न नसक्ने राजाले देशको रक्षा नगर्ने बताएका छन् । ‘सडकमा केही जनता निस्किएर राजा आऊ देश बचाउन भन्दैछन्, यो भ्रममा नरहन आग्रह गर्छु’ देउवाले भने, ‘मैले ठूलो राजनीतिक जोखिम मोलेर ज्ञानेन्द्रलाई सहयोग गरेको थिएँ, उनले मलाई के गरे, जेल हालिदिए । मलाई थुनामै राखे ।’ उनले राजाका पक्षमा नारा लगाउने वातावरण पनि प्रधानमन्त्री ओलीले नै बनाइदिएको बताए । उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले वर्तमान संविधान र व्यवस्था नै उत्तम भएको बताएका छन् ।
‘राजतन्त्र त राजा ज्ञानेन्द्रकै कारण गएको हो र अब पछि फर्कने ठाउँ पनि छैन,’ देउवाले भने– ’सरकारप्रति निरासा बढाउने काम ओलीले गरिरहेको छ । त्यही कारण राजावादीहरु गणतन्त्रले राम्रो गर्दैन भन्दै जनता झुक्याउन सकिन्छ कि भनेर निस्किएका छन् ।’ शुन्य सहनशीलता भन्ने प्रधानमन्त्रीको सरकारले हत्या हिंसा बलात्कारका आरोपीहरु पक्राउ कारबाही नगर्नुले ओली सरकारका कुरा गफमै सिमित भएको देउवाको भनाइ छ ।
सभापति देउवाले ओलीले अदालतलाई समेत प्रभावमा पारेर कम्युनिष्टकरण गर्न खोजेका कारण अदालतको निष्पक्षता कायम गर्न पनि आफूहरु आन्दोलनमा उत्रिएको बताए ।
‘कांग्रेस सुतेको बाघ हो, जिस्काउने प्रयत्न नगर्नु’– प्रवक्ता शर्मा
सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको देशभरको विरोधसभामा हेटौँडामा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सुतेको बाघ भएकाले नजिस्काउन सरकारलाई चेतावनी दिएका छन्।

सेमबार भएको विरोधसभामा प्रवक्ता शर्माले भने,‘सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर। कांग्रेस पनि त्यस्तै हो। कांग्रेसलाई जिस्काउने प्रयत्न नगर्नुस्।’
शर्माले कांग्रेसलाई कम नआँक्न कम्युनिस्टलाई चुनौती दिएका छन् । शिक्षक अपहरण गर्ने नभई विमान अपहरण गर्ने पार्टी भएको भन्दै प्रवक्ता शर्माले कांग्रेसलाई कम नआँक्न कम्युनिस्टलाई चुनौती दिएका हुन् । ‘कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो,’ प्रवक्ता शर्माले भने, ‘माओवादीले रोल्पा र मकवानपुरमा प्रहरी आक्रमण गरेको जस्तो हैन, कांग्रेस सीधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हो ।’
उनले कोरोना महामारी नियन्त्रणको नाममा सरकारले कात्रोमा समेत भ्रष्टाचार गरेको आरोप लगाए । शर्माले जनता कोरोनाको मारमा हुँदा सरकार भने सत्ताको जित हारको लडाइमा रहेको बताए। ‘जनता कोरोनाको मारमा छ। सरकार सत्ताको जित हारमा छ। त्यसैले हामी सरकारलाई सच्याउनका निम्ति सडकमा उत्रिएका हौं,’ उनले भने।
प्रवक्ता शर्माले के जनता मर्दै गर्दा बालुवाटारमा यस्तै सत्ताको लडाइ होस् भनेर मत दिएको हो भनेर युवाहरुलाई प्रश्न पनि गरेका छन्। ‘म सोध्न चाहन्छु- एमालेलाई मत दिने, माओवादीलाई मत दिने युवा साथीहरु हो। तपाईंको दाहिने हात छातीमा राखेर एक पटक अन्तरआत्मालाई सोध्नुस्– के जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाइ होस् भनेर मत घाममा लाम लागेर दिनु भएको होरु,’ उनको प्रश्न थियो।
शर्माले कम्युनिष्ट सरकार आएपछि देशले गति लिन्छ भन्ने जनताको भ्रम टुट्नु पर्ने बताए। ‘कमरेड केपी ओली र प्रचण्डका कारण कम्युनिष्ट सरकार बनेको होइन,’ उनले भने,‘तपाईंहरुका कारण बनेको हो कम्युनिष्ट सरकार। त्यसैले तपाईंको सपना टुट्नु पर्छ। कम्युनिष्ट पार्टीको सरकार आएपछि देशले गति लिन्छ भन्ने जनतको भ्रम टुट्नुपर्छ। सरकार आज महामारीमा के गर्दैछ भन्ने बुझाउन हामी सडकमा उत्रिएका हौं।