- भावना सापकोटा
तिमीले नै बनाएर राखेका हौ मलाई
रक्षार्थ तिम्रो बालीको
थोत्रा लुगा खाँद्योै
बनायौ मेरो टाउको
भर्खरै किनेर ल्याएको
ब्रान्डेड पहिरनमा
सजायौ आफ्नो शरीर
लगाइदियौ ठाउँ ठाउँमा च्यातेको
दागैदाग लागेर
तिम्रो इज्जत जोगाउन नसकेको
सेतो सर्ट मेरो शरीरमा
के के शृङ्गारमा सजाइदियौ
र उभ्याइदियौ ठिङ्ग
एउटा आलिको छेउमा
प्राण विहीन मेरो देहलाई ।
प्राण भरिएको तिमी हिड्छौ
हिडिरहन्छौ
दिनदिन भर बेफिक्रि
चर्को घाममा जोगाउँछौ छातामा आफूलाई
दर्के पानीमा ओतिन्छौ वर्षादि लगाएर
जाडोमा न्यानो दिन्छौ
आफ्नो शरीरभर बख्खु भिरेर
भोक लागेमा भर पेट खान्छौ बेफिक्रि
थाकेमा बिसाइदिन्छौ
शीतल चौतारामाथी
शरीर
उभिँदा उभिँदा गोडा गलेमा
बसिदिन्छौ थ्याच्च
र,
सुस्ताउँछौ लामो सुस्केरा ।
तिम्रो बालीको सुरक्षा कवज म
जोगाइदिन्छु अन्न पन्छीहरूबाट
दिनरात मान्छे हुनुको भ्रम पालेर
झुक्याइराख्छु अबोध पन्छीहरूलाई
घाम र पानी,
जाडो र गर्मी,
भोक र तिर्खा
केही केही नभनी
उभिदिन्छु दिनदिन भर
उभिदिन्छु रातरात भर
डिउटीफुल भएर
तिमी मानव प्राण भएर पनि
प्राणविहीन मजस्तै भएको देख्दा
लाग्छ तिम्रो प्राण भरेर आफूमा
उभ्याइदिउँ
आलीको छेउमा तिमीलाई
र
निकालूँ एउटा विद्रोही
आवाज आफूबाट ।।