- सविता तिमल्सिना
यो समाज काँडालाई
संरक्षकको विल्ला भिराएर स्वीकार्छ
कुरुप यथार्थ
र, लेखिरहन्छ घृणीत ईतिहास
जीउभरी काँडा लिएर
उभिनुको पीडा
श्वास फेर्नुको पीडा
फुल्नुको पीडा
र, त्यो भन्दा पर
बाँच्नुको पीडा
सायदै
समाजले महसुस गर्ने भए
सानो आँधीमा पनि
छियाःछियाः हुँदैनन् थिए
गुलाफहरू
आफैसँग जोडीएका काँडाहरूले
कहिले त लाग्छ ।
समाज काँडा हो ।
वा, काँडा समाज हो ।
नत्र किन
हरेक बिहान
आँधीको बहानामा
आफैँले चिथोरेको गुलाफ हेरेर
मुस्कुराउँछ कुटिल मुस्कान ।