मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लोकतन्त्र स्थापित गर्न र टिकाउनेको लागि मिडियाको भूमिका प्रभावकारी रहेको बताएका छन्। पत्रकार महासंघ मकवानपुरको १६ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र त्यसलाई स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको बताएका हुन् ।
उनले मिडियाको भूमिका प्रतिपक्षी नभई सरकार पक्ष पनि रहनु पर्ने बताएका छन् । मिडियाले बागमती प्रदेश सरकारले गरेको कामलाई जनता माझ पु-याउन सहयोग गरेकोमा प्रशंसा गर्दै मिडिया समाजको पहरेदार भएको उनले बताए । उनले साधारण सभालाई सम्बोधनकै क्रममा मिडियालाई प्रदेश सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरि साधारण सभालाई सम्बोधनका क्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले तिनै तहका सरकारको भूमिका प्रभावकारी नभएको बताए । पछिल्लो समय असल रुपले पत्रकारिता गर्नेहरुको जमात घटेको बताउँदै नेता बानियाँले पार्टी र बैंक मर्ज भएजस्तै गरी मिडिया हाउस पनि मर्ज हुनु पर्ने आवश्यक औल्याए ।
सरकारले अन्य क्षेत्रमा सहुलियत दरमा ऋण उपलब्ध गराउने तर पत्रकारलाई ऋण किन नदिने भन्दै सरकारलाई कोरोनाको जोखिम पेशा नै दाउमा राख्न बाध्य बनेका पत्रकारलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताए । नेता बानियाँले पत्रकारले कसैको आशमा काम गर्ने नभई पत्रकारिताको आचारसंहिता पालना गर्न र मिडिया संचालकलाई काम गरेबापत सरकारले तोकेको पारिश्रमिक दिन अनुरोध गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेहर हरिबहादुर महत, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती प्रेदेशको प्रेस रजिष्टार रेवती सापकोटा, पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु कृष्ण गिरी, पुरुषोत्तम सुवेदी, प्रदेश अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष संझना कार्की, महासचिव कृष्ण सारु मगर, महसंघ मकवानपुर सल्लाहकार नानीमैया विष्ट, विभिन्न प्रेस संगठनमा केन्द्र, प्रदेश तथा जिल्लामा प्रतिनिधित्व गर्ने प्रमुख एवम् पदाधिकारीहरुले पत्रकारको समस्याबारे मन्तव्य राखेका थिए ।
साधारण सभाको बन्दसत्रमा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन संशोधन सहित पारित गर्ने निर्णय गरेको छ । साथै महासंघले ल्याएको जेष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधिको प्रस्तावलाई पुर्णता दिनको लागि ५ सदस्यिय समिति बनाएको छ । साधारण सभाले पत्रकार महासंघ मकवानपुरका उपाध्यक्षहरु द्वय कुमार अधिकारी र सरिता दाहाल, महासंघ जिल्ला शाखा सल्लाहकार नानिमैया विष्ट र पत्रकारहरु बालकृष्ण अधिकारी र ध्रुब चौलागाई रहेको समितिलाई कार्यविधि पुर्णताको लागि जिम्मेवारी दिएको छ । साधारण सभा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको थियो ।