- अधिवक्ता अप्सरा बस्नेत
विवाह र सम्बन्ध विच्छेदः
समाजमा चलि आएको चलन, परम्परा अनुसार कुनै पुरुष र महिलाले कुनै उत्सब, समारोह गरी औपचारीक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति पत्निको रुपमा स्विकार गरेमा विवाह भएको मानिन्छ । विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीबन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारीत एक पबित्र सामाजिक तथा कानुनी बन्धन हो ।
उमेर पुगेका प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवन यापन गर्ने स्वतन्त्रता हुन्छ । विवाह जुनसुकै किसिमबाट भएको भएता पनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्ने कानुनी बाध्यता रहेको छ भने समाजसँग लुकाएर राखेको विवाहलाई कानुनले मान्यता दिएको छैन । विवाहको लागि २० वर्ष पुरा भएको हुनुपर्ने कानुनले तोकेको भएपनि धेरैले कम उमेरमा नै विवाह गर्ने गरेको हामीले देख्ने गरेका छौ ।
यसरी कम उमेरमा आफू खुसी वा अभिभावकको सहमतिमा गरीने विवाहहरु बाल विवाह अन्र्तगत पर्दछन् । बाल विवाह कानुनतः दण्डनिय रहेको छ । तथापी सामाजमा विभिन्न कारण बाल विवाह बढ्दो छ । त्यसैगरी घरमा आफ्नो पत्नि हुदाँहुदै निजसँग बैवाहिक सम्बन्ध अन्त्य नभई अर्को महिलासँग विवाह गर्नुलाई बहु विवाह भनिन्छ । बहुविवाह पनि कानुनीरुपमा दण्डनिय रहेको छ । मुलुकी अपराध संहिता, २०७४ लागु भएपछि यसमा बहुविवाह गरेमा १ वर्षदेखि ५ वर्षसम्म कैद र दस हजार रुपैया देखि पचास हजार रुपैयासम्म जरिवाना हुने र विवाह स्वतः बदर हुने गरी कडा कानुनी व्यवस्था भएको भएतापनि बहु विवाह गर्नेको सख्या बढ्दो छ । जसको परिणाम स्वरुप अहिले सम्बन्ध विच्छेद गर्नेहरुको सख्यामा बृद्धी हुदै गइरहेको छ । जसले गर्दा समाजमा विभिन्न समस्याहरु देखा परेका छन् ।
कुनै पुरुष र महिला बिच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरु एकअर्काको पति पत्निको रुपमा रहेको मानिने छ तर यदि कानुन बमोजिम नाता सम्बन्ध अन्त्य भएमा मात्र सम्बन्ध विच्छेद भएको मानिन्छ । पहिला मुलुकी ऐनमा महिलाले चाहेको अवस्थामा मात्र सम्बन्ध विच्छेद हुने कानुनी प्रावधान रहेको थियो भने हालको मुलुकी देवानी संहिता, २०७४ ले पति वा पत्नी दुबैले सम्बन्ध विच्छेद गर्न सक्ने ब्यवस्था गरेको छ ।
ऐनको दफा ९३ ले पति पत्नी दुबैले चाहेमा जहिले सुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्ने छन् भन्ने व्यवस्था गरेको छ भने दफा ९४ (क) कानुन बमोजिम अशं लिई वा मानो छुट्ईि पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखी अलग बसेमा, (ख) पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पत्निले पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिम को कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पत्निले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्निसंग सम्बन्ध विच्छेद गर्न सक्ने भन्ने कानुनी ब्यवस्था रहेको छ ।
यसैगरी दफा ९५ (क) कानुन बमोजिम अशं लिई वा मानो छुट्ईि पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखी अलग बसेमा, (ख) पतिले पत्नीलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरु कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पतिले अर्को विवाह गरेमा, (ङ) पतिले अन्य महिलासंग यौन सम्बन्ध राखेको ठहरेमा,(च) पतिले पत्नीलाई जबरजस्ति करणी गरेको ठहरेमा पत्नीले पतिसंग सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी ब्यवस्था रहेको छ ।
सम्बन्ध विच्छेद गर्न चाहाने पति वा पत्नीले अदालतमा सम्बन्ध विच्छेदको लागी निवेदन दिनुपर्ने र सम्बन्ध बिच्छेदको लागी निबेदन परेमा अदालतले दुबै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ । यदि सम्झाउदा बुझाउदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नु भन्दा सम्बन्ध विच्छेद हुनु उपयुक्त देखेमा अदालतले निजहरुको सम्बन्ध विच्छेद गरीदिनुपर्ने छ भन्ने कानुनी ब्यवस्था रहेको छ ।
स्थानिय सरकार सन्चालन ऐन,२०७४ मा न्यायीक समितिले पति पत्नीसँगै बस्ने गरी मेलमिलाप गराउन सक्छ तर सम्बन्ध बिच्छेद हुनेगरी निर्णय गर्न मिल्दैन सम्बन्ध बिच्छेद गर्ने अधिकार अदालतलाई मात्र रहेको छ ।
पतिको कारण पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशवण्डा गर्न लाउनुपर्नेछ भने यदि सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसंग एकमुष्ट रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराइ लिन चाहेमा अदालतले पतिको सम्पति वा आम्दानिको आधारमा पत्नीलाई एकमुष्ट रकम दिलाईदिन वा वार्षिक वा मासिक रकम वा खर्च भराइ दिनुपर्ने छ तर पत्निले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनुपर्ने छैन ।
अंशवण्डा गर्नुपर्दा कुनै सम्पति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानि भएमा अदालतले पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानिको आधारमा खान लाउन खर्च भराई दिनसक्ने छ । तर त्यस्ती पत्निले अर्को विवाह गरेमा र पतिको भन्दा पत्नीको आम्दानि बढि भएमा त्यस्तो रकम वा खर्च दिनुपर्ने छैन । सम्बन्ध बिच्छेदको लागी न्यायीक समितिमा समेत निबेदन दिन सकिन्छ । स्थानिय सरकार सन्चालन ऐन,२०७४ मा न्यायीक समितिले पति पत्नीसँगै बस्ने गरी मेलमिलाप गराउन सक्छ तर सम्बन्ध बिच्छेद हुनेगरी निर्णय गर्न मिल्दैन सम्बन्ध बिच्छेद गर्ने अधिकार अदालतलाई मात्र रहेको छ ।
नाबालक छोराछोरीको अवस्थाः
यसरी आमाबुबाको बीचमा कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद भएको वा कानुन बमोजिम पति पत्नीको बैवाहिक सम्बन्ध अन्त्य भएको अवस्थामा निजहरुबाट जन्मिएको नाबालक छोराछोरीहरु भएमा पाँच वर्ष उमेर पुरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभएपनि निजले चाहेमा आमाको जिम्मा हुन्छ । पाँच बर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेमा बाहेक निजले चाहेमा आमाको जिम्मा रहने छन् भने १० बर्ष उमेर पुरा भएको नाबालक भए निजको राय लिई उ बाबु वा आमाको जिम्मा रहने भन्ने व्यवस्था कानुनमा स्पष्ट गरेको छ ।