- मनिला विष्ट, उपाध्यक्ष मनहरी गाउँपालिका मकवानपुर
¤ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा यहाँको पालिकामा के कस्ता कार्यक्रम गर्नुभयो ?
यो अभियानमा देशैभर विविन्न कार्यक्रमहरु गरिए । हामीले आफ्नो गाउँपालिका (मनहरी) मा पनि विभिन्न कार्यक्रम ग-यौ । अभियान शिलशिलामा विभिन्न सचेतना मुलक कार्यक्रमसँगै पालिकाको वार्षिक कार्यक्रम पनि निरन्तर जारी रहे । जुन लैङ्गिक हिंसा उन्मुलनको लागि जारी राखिएका कार्यक्रमहरु थिए । बाल विवाह विरुद्ध सचेतना, अन्तरक्रिया, कानुनी व्यवस्था बारे जानकारी ग-यौं । साथै छोरीछोरी जन्मेर स्थायी बन्ध्याकरण गरेकालाई सम्मान कार्यक्रम ग-यौ, यसैगरी स्थानीय सरकार र संघसंस्था बीच जनचेतनामूलक लोक दोहोरी, महिला भलिबल प्रतियोगिता जस्ता कार्यक्रम अभियानमा ग-यौ ।
¤स्थानीय सरकारले यस्ता काम अभियान विशेषमा मात्रै गर्ने हो ?
अवश्य हैन, हामीले यस्ता अभियानमा मात्रै आफ्ना कार्यक्रमलाई देखाउने गरेका हैनौ । यो अभियान एउटा पर्व जस्तै हो, मनाउने गरिन्छ तर, अन्य समयमा पनि हाम्रो अभियान जारी रहन्छ । अन्य समयमा चाहिँ सचेतनाभन्दा आयमुलक, सिपमुलक कार्यक्रमहरु छन् ।
हिंसा प्रभावित महिलाहरुलाई सिपमुलक आयमुलक कार्यक्रम लक्ष्यित गरेका छौ । यस वर्षबाट यो कार्यक्रम सुरु भैसकेको छ । यो वर्ष नै २ दर्जन बढी महिलाको लागि सिपमुलक आयमुलक कार्यक्रम सुरु गरिएको छ । कृषि योजनासँग जोडेर महिलालाई स्वाबलम्बी बनाउने तर्फ कार्यक्रम ल्याएका छौ । आर्थिक रुपमा विपन्न महिलाको लागि घुम्तिकोषबाट पनि लगानी गरेका छौ । शक्तिको आधार पनि हिंसा हुने गरेको छ, महिलालाई आर्थिक रुपमा सशक्त बनाउनु जरुरी छ भन्ने मान्यतामा वर्षैभरी नियमित कार्यक्रम चालू छ । र अर्को कुरा, अहिले हिंसा महिला माथी मात्रै छैन, हामी लैङ्गक हिंसा उन्मुलनको चरणमा छौ । त्यसैले पुरुषहरूको अवस्थालाई पनि हामीले ध्यान दिएका छौं । लैङ्गिक हिंसा महिलामाथी बढि छ,तर पुरुषलाई पनि छ,त्यसैले मनहरी गाउँपालिकाले पुरुषहरुको समूहलाई पनि लगानी गरेको छ ।
यसैगरी समाबेशी बजेटबाट पनि हामीले जनचेतनामुलकभन्दा आयमुलकलाई बढी जोड दिएका छौं ।
¤अब महिला माथिको मात्रै नभएर लिङ्गको आधार हुने हिंसाको विरुद्धमा हामी छौ । तपाई गाउँपालिकाको न्यायीक समिति संयोजक समेत हुनुहुन्छ, हिंसाको उजुरी गर्न पुरुषहरु पनि आउनु हुन्छ कि ?
आउनु हुन्छ, तर निवेदन नै दर्ता गरेर चै छैन, मौखिक उजुरी आउँछन, अनौपचारिक रुपमा मिलाएर पठाएका छौ । घरेलु हिंसा भन्दा सामाजिक रुपमा मानमर्दन गरेको जस्ता उजुरी बढी हुन्छन् पुरुषहरूको चाहि ।
¤महिलामाथि भएका हिंसा र पुरुषमाथि भएका हिंसाबारे छलफल गर्दा केही फरकपन अनुभव गर्नु भयो कि ?
अं, मैले काम गर्दा अनुभुती गरेको कुरा, अझैसम्म पनि महिला लाई भएको हिंसालाई हल्का रुपमा लिईन्छ । पुरुष माथिको हिंसा ठूलो मानिन्छ । पुरुषमाथि मानमर्दन जस्ता केशमा पनि पुरुषहरु एकजुट भएर आउनु हुन्छ । उ साँच्चिकै पीडित हो भन्दै सामुहिक आवाज आउँछ, तर महिलामाथि जघन्य प्रकारको घटना हुदा पनि यतिसम्मको कुरा बाहिर नल्याएको भए हुने, यस्तो त भैहाल्छ नि भनेर सामान्य रुप दिन खोजिन्छ ।
¤लैङ्गिक हिंसा न्यूनीकरण गर्दा चुनौती कस्ता कस्ता छन ?
लैङ्गिक हिंसाको कुरा गर्दा फेरि पनि महिला र बालिका नै बढी पीडित भएका छन् । गाउँपालिकाको न्यायीक समितिले काम गर्न खोज्दा पनि विभिन्न समस्या छन् । भौतिक पुर्वाधारको समस्या छ । इजलास बने पनि जनशक्तिको अभावमा प्रयोगमा ल्याउन सकिएको छैन । उपाध्यक्षको कार्यकक्षमै विवाद मिलाउनु परेको छ । सेवाग्राही आउनुहुन्छ, गोपनियताको कुरा बाहिर जाने डर हुन्छ । विवाद हुँदा हानाहानसम्म हुने गरेको छ । हिंसा पीडितले आफ्नो कुरा गोप्यरुपमा बताउन चाहेमा त्यो वातावरण मिलाउन सकिन्न । काखेबच्चा बोकेर आउनुहुन्छ छुट्टै स्तनपान कक्ष समेत छैन, बच्चा रोईदिन्छ सबैका सामु स्तनपान गराउनुपर्ने हुन्छ,यस्ता धेरै समस्या छन् ।