मकवानपुर / नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ । पत्रकार महासंघ मकवानपुर शाखाको आज (बुधबार) को कार्यसमिति बैठकले ‘जेष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधी, २०७७’ पास गर्दै पेन्सन दिनका लागि सुरुवात गर्न लागेको हो ।
पेन्सन दिनका लागि हेटौंडा उपमहानगरपालिकाले कोषमा दश लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै महासंघको मुद्दती खातामा रहेको दुई लाख रुपैयाँसमेत पेन्सन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मुद्द्ती रकम र उपमहानगरपालिकाको गरी जम्मा १२ लाखको व्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँले बताए । पेन्सन सम्बन्धी कार्यविधिलाई महासंघको यही मंसिर २६ गतेको साधारण सभाले पारित गर्ने अध्यक्ष हुमागाईँले बताए ।
महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन लागिएको हो । लगातार कम्तिमा बीस वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निबेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो ।
जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने छ र कोषमा रकम वृद्धि भएसँगै पेन्सन रकम पनि वृद्धि गरिने बताईएको छ ।
यस्तै, राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने प्रावधान रहेको अध्यक्ष हुमागाईँले बताए । जनतासमाचारबाट