मकवानपुर/लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत माइती नेपाल मकवानपुरको आयोजनामा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा १ काे राष्ट्रिय माविकाे कक्षा ८,९ र १० का ५ जना किशोर र १५ जना किशोरीहरुलाई बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण विरुद्ध सचेतनामुलक जानकारी प्रदान गरिएको हो । बालबालिकाहरुमाथि पछिल्लो समय व्यवसायिक यौन शोषणको घटनाहरु बढ्दो रहेकोले यसबारे कक्षा सञ्चालन गरिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । बालबालिकामाथि हुने व्यवसायिक यौन शोषण, मानव बेचविखन, लैङ्गिक हिंसालगायतको बारेमा अभिमुखिकरण गराइएको माइती नेपाल मकवानपुर प्रमुख लामाले बताइन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सुरु गरिएको यो कार्यक्रम विभिन्न समूहका किशोर किशोरीहरुलाई निरन्तर जारी रहने लामाले बताइन् । कोरोना भाइरसको संक्रमणको कारण वैकल्पिक सिकाइलाई व्यवहारिक गराउनु पर्ने बाध्यात्मक अवस्थासँगै इन्टरनेटको प्रयोगबाट पनि बालबालिकामाथि व्यवसायिक यौन शोषणको संभावना बढेको उनले बताइन् ।
कार्यक्रममा राष्ट्रिय माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थिङ्ग, प्रध्यानाध्यापक प्रमिला अर्याल, शिक्षक भवानी दाहाल लगायतको सहभागीता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा माइती नेपाल मकवानपुर प्रमुख लामा र हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले सहजिकरण गरेका थिए । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दा उच्च स्वास्थ्य सावधानी अपनाई कार्यक्रम आयोजना गरिएको वाइबाले बताइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सामान्य ज्ञानको प्रश्नावली सोधेर उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । साथै कार्यक्रममा सहभागी २० जना किशोर किशोरीहरुलाई स्टेशनरी समेत सहयोग गरिएको माइती नेपाल मकवानपुर सहजकर्ता सरिता तामाङ्गले बताइन् ।