मकवानपुर । काठमाडौं महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर (क्यूभिसी) आगामी १० डिसेम्बर अर्थात् मंसिर २५ गतेबाट फेरि सञ्चालनमा आउने भएको छ। कोरोना महामारीका करण बन्द रहेको भिसा सेन्टरले अहिले एपोइन्टमेन्टका लागि बुकिङ खुल्ला गरिसकिएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको छ।
भिसा सन्दर्भ नम्बर र भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकहरूको छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरको वेबसाइट मार्फत अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ। भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ। यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन्।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमै हुने गरेको थियो। अब यी सबै काम नेपालबाट पूरा हुनेछ। जसका कारण नेपाली कामदारले कतार आइपुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन्। सेन्टर आइतवार देखि बिहिबारसम्म बिहान साढे ८ देखि साँझ साढे ४ बजेसम्म संचालन हुने जनाएको छ।