मकवानपुर /मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई वडा तथा गाउँ स्तरसम्म लैजाने रणनीति बनाइएको छ । वडा अध्यक्षहरु र टोल स्तरको प्रतनिधिहरुको बैठक नै बसेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बारे प्रचारप्रसार तथा जनचेतना कार्यक्रम वडा वडामा लगिएको हो ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा गाउँपालिकाले वडा स्तरमा कानुनी शिक्षा, हिंसाको दीर्घकालिन असर तथा कानूनी प्रावधानबारे सचेतनालगायतको कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष मनिला विष्टले बताइन् । लैङ्गिकताको आधारमा कुनै पनि हिंसा स्वीकार्य नहुने, हिंसा भएमा कानुन बमोजिम प्राप्त हुने संरक्षण तथा कानुनी उपचारको बारेमा टोलटोलसम्म कार्यक्रम लगिने अभियान थालिएको उपाध्यक्ष विष्टले बताइन् । कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले लैङ्गिक हिंसाको विरुद्ध आफूहरु अभियानका बेलामा बाहेक सधैं लागि परिरहदा पनि हिंसाका डरलाग्दो रुप देखिने क्रम बढीरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

मनहरी गाउँपालिकाले टोेलका अधिकारकर्मीहरुलाई मात्रै सहभागी नगराई किशोर किशोरीहरु, शिक्षा क्षेत्रमा व्यक्तित्वहरु, सहकारी, सञ्चारक्षेत्रका व्यक्तित्वहरुलाई समेत सहभागी गराई विभिन्न कार्यक्रमहरु गरेको गाउँपालिका उपाध्यक्ष विष्टले बताइन् । गाउँपालिकाको सबै वडामा लैङ्गिक हिंसा विरुद्धको अभियानका कार्यक्रम राखिएको उनले बताइन् । राजमार्ग भएका कारणले पनि देखासिकी कै कारण जानअन्जानमा हिंसाको शिकार हुने किशोरी तथा महिलाहरुको संख्या धेरै भएको उनले बताइन् ।
‘घरेलु मदिराको कारण पनि हिंसा बढेको छ, हामीले यसको निराकरणको लागि कार्यक्रमहरु बनाएका छौ’ विष्टले भनिन् ‘यस्ता अभियानहरु त चाडपर्वहरु जस्तै मात्रै हुन्, हामीले सचेतना तथा यस क्षेत्रको काम त वर्षैभरी जारी राखिरहेका छौ ।

यसै बिच मनहरी गाउँपालिकाको आयोजना तथा गैससहरुको समन्वयमा गाउँपालिकाको वडा न.१, २, ५, ८,९ लगायतको वडाहरुमा सचेतनामुलक तथा अन्तरक्रियात्मक कार्यक्रम सकिएको छ ।
अभियान अन्तरगत महिला हिंसा विरुद्ध अभिमुखिकरण तथा कानुनी प्रावधान बारेमा छलफल गरिएको गाउँपालिकाको वडा ८ का अध्यक्ष दिलबहादुर स्याङतानले बताए ।
गाउँपालिकासँगको समन्वयमा शान्ति फाउन्डेसन, हिमराइट्स मकवानपुर, मकवानपुर महिला समूह, माइती नेपाललगायतका गैससहरुको सहकार्यमा कार्यक्रम जारी राखिएको बताइएको छ ।
मनहरी गाउँपालिकामा कार्यरत सामाजिक समूह तथा संघ सस्थाको समन्वय,सहकार्यमा अभियानभित्र तथा अन्य समयमा कार्यक्रमहरु जारी रहने गाउँपालिकाको महिला विकास शाखाले जनाएको छ ।
स्थानीय तहहरु जिम्मेवर बनेको खण्डमा हिंसा कम गर्न बल पुग्ने भएकोले आफूहरुले पीडितको अभिभावकत्व ग्रहण गर्दै न्यायका लागि समन्वय, सहकार्य र तत्कालको लागि संरक्षणको भूमिका निर्वाह गर्दै आएको महिला विकास शाखाले जनाएको छ ।