मकवानपुर /बागती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा आयोगको वर्षौदेखिको छवि कायम राख्न निर्देशन दिएका छन् ।
बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगका पदाधिकारी तथा कर्मचारीहरुसँगको भेटमा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । प्रदेश लोक सेवा आयोगले सङ्घीय लोक सेवा आयोगको क्षविलाई कायम राख्दै काम गर्नुपर्ने उनले बताएका हुन् ।
प्रदेश लोक सेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौंडा पुगेका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नुनहुने धारणा व्यक्त गरे । पौडेलले प्रदेशमा भनसुन र पहुँचका आधारमा जागिर पाउने सम्भावना नरहने बताए । उनले आयोगले आफ्नो काममा कसैले पनि औंला ठड्याउन नसक्नेगरी काम गर्दै आएको र आगामी दिनमा पनि यो गरिमा बचाइराख्नु पर्ने धारणा राखे ।
सो अवसरमा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगले आयोगका सबै पदाधिकारी तथा कर्मचारीहरुले चाहेमा समेत निश्चित उमेद्वारलाई उत्तीर्ण वा अनुत्तीर्ण गराउन नसकिने गरी प्रणाली व्यवस्थित गरिएको बताए । आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आयोगले सीमित स्रोत र साधनका बावजुत पनि प्रशस्त काम गर्न सकेको बताए ।
अर्का सदस्य शर्मिला नेउपाने (न्यौपाने) ले आफूहरुले उपयोगी तथा प्राविधिकलगायत सबै हिसाबले बैज्ञानिक पाठ्यक्रम तयार पारेको बताइन् । आयोगका निमित्त सचिव भोला दाहालले आयोगमा कर्मचारीहरुको अभाव रहेको भएपनि आफूहरु परिणाम दिनेगरी काममा लागेको बताए । उनले आयोगले जारी गरेको विज्ञापन अनुसार आज मंगलबार दिउँसोसम्म पाँच हजार ६ सय २१ वटा आवेदन प्राप्त भएको र जसबाट ४१ लाख ६९ हजार राजश्व संकलन भएको जानकारी दिए ।
प्रदेशमा प्रदेश र स्थानीय तहमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी पदपूर्तिगर्ने प्रकृया शुरु गरिएको छ ।

आयोगले स्थापनाको झण्डै एकवर्षपछि पहिलो पटक रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । प्रदेश सरकार र स्थानीय तहको माग फारामका आधारमा चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले विज्ञापन प्रकाशित गरेको थियो । यस बाहेक आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ जना र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ जना गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने विज्ञापनमा उल्लेख छ ।
त्यस्तै खुलातर्फ ३८८ जनासहित महिला, आदिवासी जनजाति, मधेशी, दलित तथा अपाङ्गता भएकाहरुसमेत रहनेगरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । हाललाई प्रदेशका दुईवटा मन्त्रालयका लागि २२ जना र ४४ वटा स्थानीय तहका लागि अन्य कर्मचारी माग गरिएको हो । आयोगले लिने परीक्षा उत्तिर्ण परीक्षार्थीलाई स्थायी नियुक्ती भने सम्बन्धित मन्त्रालय वा स्थानीय तहलेनै गर्ने विज्ञापनमा उल्लेख छ ।