मकवानपुर । आज बिहीबार र भोलि शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ। नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ गते आज र १२ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनुका साथै बालभिटा वितरण र पाखुराको नाप पनि लिइनेछ।
आज हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा ९२ खोप केन्द्र मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने गरी तयारी पुरा भएको उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईंले बताए । उनका अनुसार उपमहानगरका १२ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ । करिब १४ हजार बालबालिकालाई खुवाउने तयारीमा उपमहानगरपालिका रहे पनि १२ हजार बालबालिकालाई खुवाउने अनुमान गरिएको उनले बताए । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने गरिन्छ। यस्तै १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्ने गरिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रमले २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ। यस्तै ६ लाख बालबालिकालाई बालभिटा वितरण र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना छ। भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन्।
६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो। बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि वितरण थालिएको हो।